रौतहट २०,पुस । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि सञ्चालन गरेको आन्तरिक निर्वाचन (प्राइमरी) अन्तर्गत रौतहट क्षेत्र नम्बर–३ बाट नविन प्रसाद चौरसियाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
अघिल्लो निर्वाचनमा तयारी पर्याप्त नपुगेकाले अपेक्षित परिणाम हासिल हुन नसकेको स्वीकार गर्दै चौरसियाले पुनः चुनाव लड्न उम्मेदवारी दर्ता गराएका हुन । आफु निरन्तर जनताको सम्पर्कमा रहँदै आएको र जनतासँगको निरन्तर संवाद र विश्वास नै यसपटकको मुख्य आधार भएको उनको भनाइ छ । “पोहोर तयारी कमजोर थियो, तर त्यसपछि जनताको बीचमै रहेँ। यही कारणले यसपटक सकारात्मक परिणामको अपेक्षा गरेको छु,” उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेका विश्वासिला पात्रका रूपमा परिचित चौरसियाले रौतहट–३ का विकास, सुशासन र जनजीविकासँग जोडिएका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएको दाबी गरेका छन् ।

युवाहरू अब राजनीतिको दर्शक मात्र नभई नेतृत्वको जिम्मेवारी लिनुपर्ने समय आएको उल्लेख गर्दै उनले आफ्नो उम्मेदवारी युवाको प्रतिनिधित्व भएको बताएका छन् । आन्तरिक निर्वाचनबाट छनोट भई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएमा युवालाई केन्द्रमा राखी रोजगार, उद्यमशीलता, पारदर्शिता र जवाफदेहितामा आधारित कार्यक्रम अघि बढाउने प्रतिबद्धता उनको छ ।यसै आन्तरिक चुनावमा क्षेत्र नम्बर ३ बाट सरोज कुमार साहले पनि भाग लिएका छन् ।


