Wednesday, February 18, 2026

रौतहट–४ मा नेकपा एमाले को क्षेत्रीय भेला सम्पन्न

पछिल्लाे समाचार

रौतहट ०४,फाल्गुन । रौतहटको चन्द्रपुरमा नेकपा एमालेको क्षेत्रीय भेला सम्पन्न भएको छ । रौतहट क्षेत्र नं. ४ को क्षेत्रीय भेला जिल्ला ईन्चाज अजय गुप्ताको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।

सम्पन्न भेलामा जिल्लाभरिका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी निर्वाचन केन्द्रित रणनीतिका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा जिल्ला अध्यक्ष सचितानन्द शाह, गरुडा नगरपालिकाका मेयर कण्थमणि प्रसाद जयसवाल, चन्द्रपुर नगर कमिटीका अध्यक्ष शिव आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव बाबुराम दाहाल ले गरेका थिए ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अजयकुमार गुप्ताले सामाजिक सञ्जालमा देखिने गतिविधिले मात्र चुनावी परिणाम निर्धारण नहुने बताएका थिए । उनले सामाजिक सञ्जालमा लाइक, कमेन्ट र भ्यु बटुल्नेहरू त्यहीँ सीमित रहने तर वास्तविक जनाधार भूगोलमै देखिने दाबी गर्दै चारै क्षेत्रमा पार्टीका उम्मेदवार बलिया र जनआधारित भएकाले यसपटक एमालेको जित सुनिश्चित रहेको उल्लेख गरे । कार्यकर्तालाई जनताको घरदैलोमा पुगेर पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराउन उनले आग्रह गरेका थिए ।

जिल्ला अध्यक्ष सचितानन्द शाहले संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउँदै एकढिक्का भएर चुनावी अभियानमा लाग्नुपर्नेमा जोड दिए । मेयर कण्थमणि प्रसाद जयसवालले स्थानीय तहमा भएका विकास निर्माणका कामलाई जनतामाझ पुर्‍याउँदै विश्वासको वातावरण बनाउनुपर्ने धारणा राखे ।

चन्द्रपुर नगर कमिटीका अध्यक्ष शिव आचार्यले प्रतिगामी शक्तिहरूले एमालेको छवि बिगार्ने प्रयास गरिरहेको आरोप लगाउँदै भ्रम चिर्दै जनताको बीचमा पुग्नुपर्ने बताए । उनले पार्टीभित्रको एकता र सक्रियता नै आगामी निर्वाचनमा जितको आधार बन्ने उल्लेख गरे ।

कार्यक्रम सञ्चालन गरेका जिल्ला सचिव बाबुराम दाहालले चुनाव नजिकिँदै गर्दा कार्यकर्ताहरूको सक्रियता बढाउन आवश्यक रहेको बताए । उनले गाउँ–टोल, चौक–चौराहादेखि घरदैलो अभियानसम्मलाई निरन्तरता दिँदै जनसम्पर्कलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । दाहालले संगठनात्मक रूपमा सबै तहका कार्यकर्ता समन्वय गर्दै अघि बढेमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामजी शाह लाई विजयी बनाउन सहज हुने विश्वास व्यक्त गरे ।

भेला सम्पन्न भएलगत्तै नेता तथा कार्यकर्ताहरू चन्द्रपुर चौक र आसपासका बजार क्षेत्रमा पुगेर मत माग्न निस्किएका थिए । उनीहरूले सर्वसाधारण, व्यवसायी र स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गरेका थिए । नेता तथा कार्यकर्ताहरूले आगामी दिनमा गाउँ–टोल केन्द्रित अभियानलाई अझ तीव्र बनाउने बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु