रौतहट २९,माघ । जङ्गलसहैया सब–डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले अवैध काठ ओसारपसारमा संलग्न साधनसहित काठ बरामद गरेको छ ।
संयुक्त टोलीले गएराति करिब ९:३० बजे गस्तीका क्रममा साल जातका २ थान गोलिया काठसहित १ थान सुमो गाडी र १ थान मोटरसाइकल नियन्त्रणमा लिएको हो । काठ अवैध रूपमा ओसारपसार गरिँदै गरेको सूचनाका आधारमा गरिएको कारबाहीमा ती सामग्री बरामद गरिएको जनाइएको छ ।
घटनास्थलबाट गाडी चालक तथा संलग्न व्यक्तिहरू फरार रहेका छन् भने उनीहरूको खोजतलास तथा थप अनुसन्धान कार्य जारी रहेको सब–डिभिजन वन कार्यालयका प्रमुख विनोद जेठाराले जानकारी दिएका छन् । बरामद काठ र सवारी साधनलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए।


