रौतहट १९,माघ । रौतहटको गरुडा नगरपालिका–८ मा चुनावी बढ्दो तापक्रमसँगै नेकपा एमालेका उम्मेदवार रामजी शाहले घर–दैलो अभियानलाई अभूतपूर्व रूपमा विस्तार गर्दै लगेका छन्। बिर्ताका विभिन्न टोल, गल्ली, चोक र बस्तीहरूमा पुगेका शाहलाई स्थानीयवासीले उत्साह, सामूहिक उपस्थिती र खुलेआम समर्थनसहित स्वागत गरेको दृश्यले गरुडाको राजनीतिक वातावरणमा नयाँ ऊर्जा भरिएको देखिन्छ।
अभियानसँगै सहभागी रहेका एमाले रौतहटका सचिव बाबुराम दाहालका अनुसार, प्रत्येक टोल–टोलमा सूर्यको झन्डासहित निस्किएका स्थानीय युवा, महिलादेखि वृद्धसम्म सबैले शाहलाई आफ्नो क्षेत्रको ‘विश्वासिलो नेता’का रूपमा प्रस्तुत गरिरहेका छन्। दाहालका शब्दमा— “मतदाताको विश्वासले हामीलाई जितभन्दा बढी एउटा विकासमूलक जिम्मेवारी बोकेको महसुस गराएको छ। शाहको पक्षमा सत्ता–विरोधी लहर होइन, विकास–समर्थक जनलहर चलेको छ।”
शाहले भेटघाटका क्रममा मतदातासँग वडा–स्तरका चुनौती, पूर्वाधार, सुशासन, सेवा–सुविधा र स्थानीय आर्थिक सक्रियताबारे प्रत्यक्ष संवाद गरे। उनले एमाले नेतृत्वका पूर्वकालीन विकास कार्यक्रम सम्झाउँदै भनेका छन् कि गरुडा–८ ले विगतमा पाएको गतिशील परिवर्तन कुनै संयोग नभएको र त्यो अभियानलाई फेरि निरन्तरता दिन जनता तयार भइसकेका छन्।
विशेषगरी श्रीराम सुगर मिलको पुनःसञ्चालन विषयमा शाहले जनस्तरसम्म पुग्ने विश्वसनीय प्रतिवद्धता जनाएका छन्। लामो समयदेखि बन्द रहँदा स्थानीय श्रमिक, किसान र व्यापारीमा परेको असरबारे उनले गम्भीरता व्यक्त गर्दै, आफ्नो जितसँगै मिल सञ्चालनका लागि आफू “पहिलो दिनदेखि नै पहलमा जुट्ने” दृढ अठोट व्यक्त गरे।
स्थानीय बासिन्दाहरूले शाहलाई भेटघाटका क्रममा सडक–विस्तार, खानेपानी, कृषि–सिंचाइ, युवाका रोजगार अवसर र स्वास्थ्य सेवामा सुधार प्राथमिकतामा राख्न अनुरोध गरे। शाहले ती सबैलाई व्यवस्थित योजनासहित आफ्नो कार्यसूचीमा राख्ने आश्वासन दिए।
घर–दैलो अभियानमा सहभागी स्थानीय युवाहरूले ‘सूर्य अघि बढ्यो भने विकास अघि बढ्छ’ भन्ने नारासहित प्रचार अभियानलाई जनसहभागी बनाइरहेका छन्। वृद्ध–वृद्धाहरुले समेत शाहकै नेतृत्वमा वडा–८ ले विगतमा देखेको सुधार स्मरण गर्दै यसपालि पनि विकासको बाटो सूर्यकै हातबाट अघि बढ्ने विश्वास व्यक्त गरिरहेका छन्।
देखिएको जनउत्साह, मतदाताको प्रत्यक्ष समर्थन र शाहको तीव्र सक्रियताले चुनाव नजिकिँदै जाँदा गरुडामा एमालेको प्रभावशाली उपस्थिति झनै बलियो हुँदै गएको संकेत मिलिरहेको छ।


