रौतहट ०९, फाल्गुन । चन्द्रपुर नगरपालिका–४ स्थित स्वस्तिक साकोस को १४औँ स्थापना दिवस तथा बाल भेला विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष नरेन्द्र रानाको सभापतित्वमा शनिवार हातेमालो सामुदायिक वन उपभोक्ता समिति चन्द्रपुर–६ को सभा हलमा सम्पन्न भएको हो । आयोजित कार्यक्रममा सहकारीका पदाधिकारी, अभिभावक, शिक्षक तथा बालबालिकाको उपस्तिथि रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै रौतहट बचत तथा ऋण सहकारी संघ का अध्यक्ष प्रमुख अतिथि विभु पोखरेलले बालबालिकालाई सानै उमेरदेखि सहकारीको महत्व बुझ्न र बचत गर्ने बानीको अभ्यास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बचतको संस्कारले भविष्यमा आत्मनिर्भर र जिम्मेवार नागरिक निर्माणमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापती राणाले आजको विशेष अवसर संस्थाको स्थापना दिवससँगै भावी पुस्ताप्रति उत्तरदायित्व बोध गराउने उद्देश्यले आयोजना गरिएको बाल भेलाका कारण अझ महत्वपूर्ण बनेको बताउनुभयो । उहाँले सहकारी संस्था केवल आर्थिक कारोबारमा सीमित नभई सामाजिक चेतना, अनुशासन र भविष्य निर्माणसँग जोडिएको अभियान भएको उल्लेख गर्दै आजको कार्यक्रमले सोही सन्देश प्रवाह गरेको धारणा राख्नुभयो ।
संघका महासचिव देवबहादुर सापकोटाले भविष्य सुरक्षित गर्न बचतको बानी अपरिहार्य रहेको बताउनुभयो । चन्द्रपुर नगरपालिका सहकारी शाखाका प्रमुख शेख नसरे आलमले बालअधिकारसम्बन्धी विषयमा प्रकाश पार्नुभयो भने चन्द्रोदय साकोसका अध्यक्ष बसन्त आचार्यले बालबालिकालाई सत्कर्मतर्फ प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । वडा नं. ६ का अध्यक्ष सहदेव केसीले बालबालिकाको चाहनाअनुसार अभिभावक अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी यातायात मजदुर बाकोस का अध्यक्ष कुलप्रसाद अधिकारीले स्वस्तिक साकोसले समुदायमा खेलेको सकारात्मक भूमिकाको प्रशंसा गर्नुभयो । नवविकास साकोसका अध्यक्ष राजेन्द्र तिवारी सहकारीहरूले शेयर सदस्यको हितमा गरेका कार्यबाट सदस्यहरू लाभान्वित भएको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य मुना लामिछाने गर्नुभएको थियो भने संचालन कर्मा लामाले गर्नुभएको थियो ।
कार्यक्रमका अवसरमा हाजिरीजवाफ तथा सहकारीको महत्वसम्बन्धी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । वक्तृत्वकलामा सुदिना पौडेल प्रथम, निशा सिंह कुश्वाहा द्वितीय र मोनालिशा कुश्वार तृतीय घोषित भए।
बाल बचततर्फ विश्व भुषण कार्की, रियाना स्याङ्तान, पूर्णिमा चौधरी, मेनुका राई र सुविशा न्यौपानेलाई खादा तथा सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो । ज्येष्ठ सदस्यतर्फ बुद्धिमाया मगर, अनिवार्य बचततर्फ गीता थापा र शर्मलाल बजगाई, मासिक बचततर्फ सरस्वती ढुङेल र उर्मिला राई, दैनिक बचततर्फ मानकुमारी खत्री र दिवाकर थापा, उत्कृष्ट उद्यमीतर्फ सरु राना र अनिता कुमारी, अपाङ्गता सदस्यतर्फ भगवती प्रसाद सेढाई तथा उत्कृष्ट समूहका रूपमा ‘सम्भावना बचत समूह’लाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

यसै अवसरमा अध्यक्ष राणाले संस्थाको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै २०६९ साल फागुन ९ गते स्थापना भएको संस्थाले १४ वर्षको अवधिमा उल्लेखनीय वित्तीय उपलब्धि हासिल गरेको जानकारी दिनुभयो । हाल संस्थामा ४ हजार ७४२ सदस्य आबद्ध रहेका छन्, जसमा २ हजार ५११ महिला र १ हजार ५३३ पुरुष सदस्य छन् । बाल बचत कर्ता संख्या २ हजार २२ पुगेको छ भने १५४ समूह सक्रिय छन् ।
संस्थाको शेयर पूँजी २ करोड ५१ लाख ३९ हजार ५०० रुपैयाँ, बचत निक्षेप २० करोड ५६ लाख ७५ हजार ६६३ रुपैयाँ र ऋण लगानी १९ करोड ४७ लाख ६ हजार ५४५ रुपैयाँ पुगेको छ । जगेडा कोष १ करोड ८४ लाख २ हजार २७३ रुपैयाँ तथा अन्य कोष १० लाख ७३ हजार ३७५ रुपैयाँ रहेको छ । बैंकमा तरलता ६ करोड ७३ लाख ९६ हजार ६३५ रुपैयाँ रहेको र कुल सम्पत्ति २७ करोड ३७ लाख ४८ हजार १०६ रुपैयाँ पुगेको अध्यक्ष राणाले जानकारी दिनुभयो ।
समग्रमा संस्थाको आर्थिक अवस्था सुदृढ, सन्तुलित र सन्तोषजनक रहेको उल्लेख गर्दै अध्यक्ष राणाले सदस्यहरूको विश्वास र सहकार्य नै संस्थाको मुख्य शक्ति भएको बताउनुभयो ।


