रौतहट ११,चैत्र । जमिअत उलमा-ए-नेपाल ले नेपालका मुस्लिम समुदायका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यसहित देशव्यापी ‘शैक्षिक जागरण अभियान’ सञ्चालन गर्ने भएको छ । बुधबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाले अभियान सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको हो ।
संस्थाका अध्यक्ष मोहम्मद खालिद सिद्धकी का अनुसार अभियान २०८२ साल चैत १५ गतेदेखि २०८३ साल वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ । उनले विशेषगरी शिक्षाको पहुँचबाट टाढा रहेका मुस्लिम बालबालिकालाई विद्यालय शिक्षामा समेट्ने लक्ष्य राखिएको बताए ।
अध्यक्ष सिद्धकीले मुस्लिम समुदायको मानव विकास सूचकांक, राजनीतिक पहुँच तथा आयस्रोतमा पछाडि पर्नुको मुख्य कारण शिक्षा नै रहेको उल्लेख गर्दै शिक्षामा समान सहभागिता सुनिश्चित गर्न अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा केन्द्रीय तथ्यांक विभाग को जनगणना २०७८ को तथ्याङ्क प्रस्तुत गर्दै मुस्लिम समुदायको शैक्षिक अवस्था चिन्ताजनक रहेको औंल्याइयो ।
तथ्याङ्कअनुसार नेपालको औसत साक्षरता दर ७६.२ प्रतिशत रहेको छ भने मुस्लिम समुदायको साक्षरता दर ६१.७ प्रतिशत मात्र छ । मुस्लिम महिलाको साक्षरता दर झन् न्यून भई ५० प्रतिशतमा सीमित रहेको तथ्य प्रस्तुत गरिएको थियो ।
संस्थाका सचिव मौलाना इजराइल ले अभियानले समुदायमा शिक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, विद्यालय भर्ना दर बढाउने, बीचमै पढाइ छोड्ने दर (ड्रपआउट) घटाउने तथा शिक्षाको गुणस्तर सुधारमा टेवा पुर्याउने लक्ष्य राखिएको बताए। उनले शैक्षिक खाडल न्यूनीकरण गर्न र विशेषगरी मुस्लिम महिलाको साक्षरता दर सुधार गर्न थप पहल आवश्यक भएकाले अभियान सुरु गरिएको स्पष्ट पारे ।
यसैगरी संस्थाका महासचिव मुफ्ती समीम अख्तर कासमी ले समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम, शैक्षिक अन्तरक्रिया, अभिभावक परामर्श तथा विद्यार्थी प्रेरणामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। उनले शिक्षालाई समाज परिवर्तनको मुख्य आधारको रूपमा उल्लेख गर्दै अभियान सफल बनाउन सम्पूर्ण सरोकारवाला निकाय, अभिभावक तथा सञ्चारकर्मीहरूलाई सहयोगका लागि आह्वान गरे ।
कार्यक्रममा मुस्लिम समुदायका विभिन्न अगुवाहरूको उपस्थिति रहेको थियो ।


