पर्सा,१२ भदौ //
पर्सा प्रहरीले भारतको बिहारबाट ७ जना युवतीको उद्धार गरेको छ ।
अर्केष्ट्रामा आकर्षक तलब दिने प्रलोभन देखाएर बेचबिखनको लागि लगिएका ७ जना नेपाली युवतीको विहार पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत ११ आदापुर बजारबाट उद्धार गरेको पर्साका प्रहरी प्रमुख ओम प्रकाश खनालले जानकारी दिएका छन् ।
उनका अनुसार उनीहरुलाई भारतीय प्रहरी र आफन्त नेपाल गैरसरकारी संस्थासँगको सहकार्यमा उद्धार गरिएको हो।
उनीहरुलाई झुक्याएर बेचबिखन गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । छौडादानो बस्ने २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषाको नगराइन नगरपालिका घर भइ छौडादानो नै बस्दै आएकी ममताकुमारी भन्ने अजिमा खातुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु दुबैजना विरूद्ध मानव बेचबिखन तथा ओसार पसारको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी खनालले जानकारी दिएका छन्।