रौतहट ०९,बैशाख । रौतहटको चन्द्रपुर नगरपालिका–६ मा अव्यवस्थित रूपमा रहेका विद्युत् तथा इन्टरनेटका तारहरूको व्यवस्थापन कार्य मंगलवार देखि सुरु गरिएको छ । वडाध्यक्ष सहदेव केसीको अगुवाइमा सञ्चालन गरिएको यो अभियान सुबिसु इन्टरनेटको प्राविधिक टोलीले कार्यान्वयनमा ल्याएको हो ।
हावाहुरीको मौसम सुरु भइसकेकाले लत्रिएका तथा जथाभावी फैलिएका तारहरूले दुर्घटनाको जोखिम बढाउने सम्भावनालाई मध्यनजर गर्दै वडा कार्यालयले तार व्यवस्थापनका लागि सूचना जारी गरेको थियो । सोही निर्देशनअनुसार प्राविधिक टोलीले तारहरू मिलाउने, व्यवस्थित गर्ने र सुरक्षित बनाउने कार्य अघि बढाएको जनाएको छ ।
नगरपालिकाले विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्ने निर्णयसँगै विद्यालय वरपरको वातावरण सुरक्षित बनाउन यस्ता अभियानलाई प्राथमिकतामा राखेको बताएको छ ।
स्थानीयवासीहरूले अभियानप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै यसले दुर्घटना न्यूनीकरण तथा वातावरण व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
वडाको सक्रियता र सम्बन्धित निकायको सहकार्यले चन्द्रपुर–६ मा सुरक्षा तथा व्यवस्थापनका कामहरू प्रभावकारी रूपमा अघि बढिरहेका छन् ।


