सप्तरी,१५ भदौ //
लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहावमा घटबढ उतारचढाव हुन् थालेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार आज विहान ७ बजे गरिएको मापनमा कोशी व्यारेज भएर दुई लाख १४ हजार ७४५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो ।
बिहान ६ बजे गरिएको मापनमा दुई लाख ११ हजार २२५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको उनले बताए । पछिल्लो समय वर्षा रोकिए पनि बहाव घटबढ हुने क्रम जारी रहेकाले अहिले ब्यारेजका २८ ढोका खुल्ला गरिएको उनले जानकारी दिएका छन् ।
आइतबार साझ सप्तकोशीमा यस बर्षकै सबैभन्दा बढी पानीको बहाव मापन गरिएको थियो । मापनको समयमा पानीको बहाव दुई लाख ७४ हजार पाँच क्यूसेक प्रतिसेकेण्ड पुगेकाले ब्यारेजका ३८ ढोका खुल्ला गरिएको बताइएको छ ।