महोत्तरी ,३ असोज //
महोत्तरी प्रहरीले प्रतिबन्ध लगाएको आरकेस्ट्रामा भएको विवादमा दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने ,अन्य २ जना घाइते भएका छन्।
मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ७ सुन्दरपुरका ५० वर्षीय रामप्रसाद यादव रहेका छन्।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु बस्यालका अनुसार यादवका छोरा सरोज यादव र मनोज यादव घाइते भएका छन् ।
शनिबार राति सोनमा गाउँपालिका– ७ सुन्दरपुर मैनटोलमा आयोजित आर्केस्ट्रा नाच हेर्ने क्रममा विवाद हुँदा वडा नं. २ तरहारीका सरोज यादवमाथि कुटपिट गरी मोबाइल स्थानीय मलेठी सदाले खोसेका थिए।
सोहि निहुमा कुटिएका युवाको अभिभावक र गाउँका अन्य व्यक्तिहरू आइतबार बिहान साढे ११ बजे सदाको घरमा किन कुटेको भन्दै गुनासो गर्न गएपछि झडप भएको हो ।
झडपको क्रममा यादव गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा गौशाला स्वास्थ्यचोकीमा मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन्।
घटनापछि प्रहरीले सदा पक्षका दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलेसि सदा र नथुनी सदा छन रहेको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्यालले बताए ।