सर्लाही ,१६ भदौ //
पूर्व–पश्चिम राजमार्गमा खाल्डाखुल्डीका कारण सर्लाहीमा सवारी दुर्घटना बढ्न थालेको छ।
मर्मत गरिएको केही सातामै राजमार्गको दर्जनौँ स्थानमा ठूल्ठूला खाल्डो परेकोले सवारी दुर्घटना बढ्न थालेको स्थानीयको भनाई छ।
मुख्य हाइवे मै खाल्डो बनेपनि मर्मतका लागि सम्वन्धित निकायले चासो नदिएको यात्रु र सवारी चालकहरुको गुनासो छ ।
राजमार्गमा ठूलो खाल्डो भएको हप्तौँ भएपनि मर्मत नभएको त्यहाका स्थानियहरुले बताएको छ।
गत साउनमा राजमार्गमा भएको खाल्डा हरुको मर्मत गरिएपनि महिना नबित्दै पून : राजमार्गमा ठूल्ठूला खाल्डो भएको स्थानीयहरू बताउछन।
जिल्लाको लालबन्दी, नवलपुर, हरिवन, बागमती लगायतका स्थानमा पनि राजमार्गमा खाल्डो परेको छ । लालबन्दी नगरपालिका–१७,रानिगन्ज चौकदेखि केही मिटर पश्चिमतर्फ राजमार्गमै ठूलो खाल्डो परेपछि सवारी दुर्घटना नहोस् भनेर ढुङ्गाले घेरेर राखिएको बताइएको छ।
पछिल्लो समयका अधिकांश दुर्घटना खाल्डाखुल्डी छल्नेक्रममा भएका पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख केदार दोङले बताए ।
उनले राजमार्गसँगै पुलहरुमा पनि गाडी गुडाउनै नमिल्ने अवस्थामा पुगेका बताएका छन् ।
यातायात व्यवसायी दीपक श्रेष्ठले सडकको खाल्डाखुल्डीका कारण दुर्घटनासँगै टायर कट लाग्ने, पट्टा भाँचिने जस्ता समस्या बढेको गुनासो गरेका छन् ।
जीर्ण सडककै कारण सवारी मर्मतमा खर्च बढेको श्रेष्ठको भनाई छ ।
कार्यालयलाई खाल्डाखुल्डी पर्दा पुर्ने जिम्मेवारी मात्रै रहेको र खाल्डाखुल्डी परेको स्थानहरुमा पटक–पटक पुर्दै आइरहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नरेश प्रसाद केशरीले बताए ।
क्षेत्रको सडकमा धेरै नै खाल्डाखुल्डी परेकाले टालटुलको काम गर्दा इमोल्सनको अभाव भएको र तत्कालै त्यसको व्यवस्था गरी पानी पर्न रोकिएको मौका पारेर खाल्डो पुर्ने काम अघि बढाइने उनले जानकारी दिएका छन् ।