रौतहट ,१७ असोज //
जनता समाजवादी पार्टी (जसपा) नेपालले अख्तियार विरुद्ध प्रदेशका ८ वटै जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको छ ।
प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी, रौतहट, बारा र पर्सा जिल्लाको सदरमुकामसहित विभिन्न स्थानहरुमा शनिवार साँझ जुलुस प्रदर्शन गरेको हो ।
जसपाको प्रदेश समितिको निर्देशनमा शनिबार साँझ रौतहटको गरुडामा मसाल जुलुस प्रदशन निकालिएको थियो।
स्थानीय दुर्गा मन्दिर अगाडिबाट निस्केको जुलुस नगरका विभिन्न भाग परिक्रमा गर्दै मेथुर चोक पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बाेल्दै नेताहरुले अख्तियारले छानबिनको नाममा जबरजस्ती गर्न खोजेको आरोप लगाए ।
जसपा प्रदेश २ का मुख्य सचिव शम्भू झाका अनुसार शनिबार प्रदेश २ का सबै जिल्लामा मसाल जुलुस भएको र आइतबार प्रदेशका सबै जिल्ला सदरमुकाममा बृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।
‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रममा अनियमितता भएको आशंकामा अख्तियारको टोलीले चारदिनअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापामारी केही कागजात लगेको थियो ।