रौतहट १८ असोज /
धानखेती गर्ने किसानलाइ यतिबेला रासायनिक मलको निकै खाचो छ ,तर मल पाइदैन ।
धानखेती गरेका किसानले मलखादको चरम अभाव भोग्नु परेको छ ।
रौतहटका बजारहरुमा यूरिया मलको अभाव छ र भारतीय सिमाक्षेत्र का बजारबाट ल्याउदा समेत कानूनी झन्झटको सामना गर्नु परेको किसानको दुखेसो छ ।
नेपाली बजारमा नपाइने र भारतबाट समेत ल्याउन नदिए पछि किसान आक्रोशित समेत छन ।
किसानको आवश्यक्ता अनुसार मलखाद नेपाल सरकारले उपलब्ध गराउन सकेको छैन । वर्षेनी मलखादको समस्या भोग्नु परेका किसानले खेती बाट पलायन हुने अवस्था आउन लागेको बताउन थालेका छन ।
सर्वसुलभ रुपमा मलको व्यवस्था, ट्रयाक्टरमा लाग्ने कर खारेज, कृषि बिमा, कृषि ऋणको व्यवस्था तथा किसानलाई पेन्सनको व्यवस्थाको माँगगर्दै किसानले रौतहटमा आन्दोलन समेत गरे /
सरकारले किसानका समस्याहरुको बारेमा ध्यान नदिदा दिनप्रतिदिन उत्पादन घट्दै गएको गुनासो पनि छ ।
धन खर्च मात्रैहुने धानखेती
किसानलाइ अत्यावश्यक सामग्रीहरुको अभावका बारेमा सरकारले वास्ता नगर्दा रौतहटका किसान पिडित छन । आक्रोसित छन । आन्दोलित छन ।
नेपालमा वर्षे धान, चैते धान, भदैया धान, घैया धान र हिउँदे धान खेती हुने गर्दछ । नेपालमा खेती गरिने कूल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती हुन्छ ।
अन्नबाली उत्पादनको कूल क्षेत्रफलको करीब ४३ प्रतिशतमा धान खेती हुने गरेको र कूल अन्नबाली उत्पादनमा ५३ प्रतिशत धानले हिस्सा राखेको छ ।
धानबालि लगाएका किसानले मलखादको चरम अभाव भोगेको र कृषि सामग्रीकै अभावमा उत्पादन घटेको भन्दै गुनासो गर्दै आएका छन ।
लगानी भन्दा फाइदा कम हुन थालेपछि किसानले खेती गर्ने वा नगर्ने अन्यौलमा परेको बताउन थालेका छन ।
मल नहुदा धान राम्रो छैन । सिचाइको उचित व्यवस्था छैन । कृषि प्राबिधीकहरु किसानको खेतमा पुग्दैनन । खर्च धेरै , आम्दानी कम हुन थालेको गुजरा नपा लक्ष्मिपुरटोलका किसान समि अख्तर अन्सारीको भनाइ छ ।
जसोतसो गरी किसानले भारतीय बजारबाट ल्याएका मलखादहरु पनि सिमाक्षेत्रमा सुरक्षाकर्मीले खोस्ने गरेको ले किसान पिडित हुने गरेको प्रदेश २ का पुर्व सांसद कुन्दन कुशवाहाको भनाइ छ ।
किसानका समस्याका बारेमा केन्द्र तथा प्रदेश सरकारलाई पटक पटक अवगत गराए पनि कुनै सुनुवाई नभएको पुर्व सांसद कुश्वाह बताउछन ।
किसानको बिभिन्न आन्दोलनको अगुवाइ गरिरहेका पुर्व सांसद कुशवाहाले सरकारले कृषियन्त्रमा पनि बढी राजश्व लगाएका ले कृषिपेशा नै संकटमा पर्दै आएको बताएका छन ।
कटहरीया नपाका किसान जितेन्द्र यादव भन्छन , नेपालमा मल पाइदैन , भारत बाट ल्याउन सजिलो छैन । ४० रुपैया किलोमा मल किनेर धान भने २० रुपैया किलोमा बेच्नुपर्छ, किसान कसरी बाच्छ ।
तीन बिगाह जमिनमा लगाएका धानखेतीमा रोग लागेको । धान सुक्दै गएको भन्दै कटहरीया नपाका अर्का किसान अनिता देवी ले गुनासो गरीन ।
हरेक स्थानिय तहमा कृषि शाखाहरु रहेको र जिल्लामा कृषि ज्ञानकेन्द्र भएपनि किसानको खेतसम्म कृषि प्राबिधीकहरु पुग्न सकेका छैन ।
रौतहटको १८ वटा स्थानिय तहमा रहेका प्राबिधीकहरुले भने साधन र श्रोतले भ्याए सम्म किसानको समस्या समाधान गर्दै आएको प्रतिकृया दिदै आएका आएका छन ।
मलखादको माग र आपूर्तीमा छैन तालमेल
१० बोरा आवश्यक रहेका किसानले २ बोरा मुस्कीलले पाउने गरेको कटहरीया नगरपालिकाका किसानहरुले बताए । किसानहरुले माँग बमोजिम अहिले अत्यावश्यक रहेको यूरिया मल पाउन सकेका छैनन ।
किसानले भारतबाट आफैले लुकिछिपी मल ल्याउने गरेका छन । भारतबाट त्यसरी मल ल्याउन निकै हैरानी खेप्नु पर्छ ।
सिमानामा सुरक्षाकर्मीले रोक्ने , मल ल्याउदा किसानले थप सास्ती र झन्झट सहनुपर्छ ।
किसानको बहाना गर्दै व्यापारीले ल्याउने र तस्करी गर्ने गरेकाले सिमामा खटिएका सुरक्षाकर्मीले कडाइ गर्ने गरेका छन ।
अवैध तरीकाबाट मल ल्याउन नपाइने सुरक्षाकर्मीको भनाइ छ । पछिल्ला दिनमा जिल्ला प्रशासन कार्यालयले रौतहटा किसनालाइ मल ल्याउन सहज गरेको छ ।
जिल्लामा करीव ४० हजार हेक्टर जमिनमा धानखेती हुने गरेको तथ्याक छ । हरेक बर्ष रोपाइ र धानलाइ रासायनिक मलखाद चाहीने बेलामा अभाव हुन्छ ।
गत आर्थिक बर्षमा कृषि सामाग्रि कम्पनी लिमिटेडले जिल्लामा एकसय ५५ सहकारी मार्फत युरीया २ हजार ८ सय ५२ मेट्रीक टन युरीया र २ हजार ३ सय ५१ मेट्रीक टन डिएपी बिक्री गरेको थियो । यस आर्थिक बर्षको भदौ सम्ममा एक हजार ७ सय ५१ मेट्रीक टन युरीया मल र तीन सय ५६ मेट्रीक टन डिएपी मल बितरण गरेको कम्पनीका सुचना अधिकारी गोबिन्द घिमिरेले जानकारी दिएका छन ।
अहिले कम्पनीको चन्द्रनिगाहपुरमा रहेको गोदानमा मल छैन । यस्तै गौरमा रहेको साल्ट ट्रेडिङ डिपो को गोदाम पनि खाली रहेको प्रमुख बासुदेव मिश्रले जानकारी दिएका छन । डिपोले ५५ वटा सहकारी मार्फत मलखाद बितरण गर्दै आएको छ ।
सहुलियतमा बितरण गरीने मल किसानलाइ प्रयाप्त छैन । तर त्यो मल अधिकाश सहकारी सस्थाहरुले कालाबजारी गर्दै बढी मुल्यमा अन्यत्र लगेर बिक्री गर्ने गरेको आरोप पनि छ ।
रौतहटका किसानका लागी अनुदानमा आएको रासायनिक मल गतबर्षहरुमा मकवानपुर, सिन्धुली, सर्लाही , बारा जिल्लाका बिभिन्न स्थानमा सहकारी संग मिलेर व्यापारीहरुले लैजाने गरेको पाइएको थियो ।
सहकारी सस्थाहरुले व्यापारीलाइ मल बिक्रीवितरणको जिम्मा दिने र व्यापारीले मनलाग्दी मुल्यमा बिक्रीगर्ने गरेको धेरै किसानको गुनासो समेत छ ।
अनुदानको रासायनिक युरीया मल सहकारी सस्थाहरुले ७ सय २७ रुपैया ५० पैसामा ५० किलोको एकबोरा खरीद गरेर ढुवानी खर्च जोडेर ८ सय ५० रुपैया सम्ममा आफ्ना शेयर सदस्यहरुलाइ बिक्रीगर्न सक्छन तर आफ्ना सदस्यहरुलाइ बितरण नगरी व्यापारी मार्फत दुइहजार रुपैया प्रतिबोरा सम्ममा बिक्री हुने गरेको पाइन्छ ।
राजनैनिक पहुच भएका , स्थानिय तहमा निर्वाचित भएका, बिभिन्न दलका माथिल्लो कमिटीमा रहेकाहरु कृषि सहकारी सस्थाका हर्ताकर्ता छन र उनीहरुकै मिलेमत्तोमा मल कालोबजारी हुने गरेको आरोप छ ।
भारतिय बजारबाट मल ल्याउन बाध्य
यसबर्ष पनि बिगतका बर्षहरुमा झै रौतहटको सिमा नजिकैको भारतिय बजारबाट किसानले लुकाइछिपाइ मल ल्याउन बाध्य छन ।
किसानले सिमाना नजिकै रहेको भारतिय बजार घोडासान, चैनपुर, बैरगनीया, छौडादाना ,आधापुर लगाएतका बजारबाट रसायनिक मल लुकिछिपी भित्राउने गरेका छन ।
उनीहरुले साइकल , मोटरसाइकल तथा टाउकोमा बोकेरै मलका नेपाल ल्याउने गरेको भेटीन्छ ।