रौतहट , १७ कात्तिक //
हिन्दुहरुको दोस्रो महान पर्व तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज काग र कुकुरको विधि पुर्वक पुजा आराधना गरि मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।
पाँचदिन सम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट सुरु हुन्छ। काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । तर तिथि घडबढ भएकोले यसवर्ष आजकै दिनमा त्रयोदशी र चर्तुदशीको परेको हो। आज कागको पुजा गरिसके पश्चात कुकुर लाई पुजा गर्नु पर्दछ। कागलाई यमराजको सन्देश बाहकका रुपमा पूजा गरिन्छ । काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ ।
कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ ।
धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेका हुन । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरू लाई बिर्सिएर कागको पूजा गरिन्छ ।
यस्तै आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ । कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।