सर्लाही , १७ कात्तिक //
सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको पटका नष्ट गरेको छ । विभिन्न मितिमा बरामद गरिएको एक लाख ११ हजार रुपैयाँ बराबरको पटका मंगलवार दिउँसो जिल्ला प्रहरी कार्यालय मलंगवाको परिसरमा खाल्डोमा पुरेर नष्ट गरिएको सर्लाही प्रहरीका प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।
उनका अनुसार उक्त पटकाहरु सीमावर्ती क्षेत्रस्थित छन्कीटोला, अर्नाहा, गडहीया, संग्रामपुर लगायतका नाकाहरुबाट बरामद गरिएको
भारतबाट लुकाईछिपाई भित्र्याइएको फूलझरी, रकेट, नागिन, आलु बम, झिरझिरे लगायतका विष्फोटकजन्य पदार्थ बरामद गरी नष्ट गरिएको डीएसपी बुढाथोकीले बताएका छन् । तिहार तथा छठमा भारतबाट पटकाजन्य वस्तु भित्रन नदिन सीमा क्षेत्रमा चेकजाँच र गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यसैबीच, सर्लाही प्रहरीले हालसालै घरेलु मदिरा उत्पादन गर्ने ६ वटा भट्टी पसल भत्काउनुका साथै तयारी र कच्चा पदार्थ गरी ६ हजार ८६० लिटर मदिरा नष्ट गरेको छ । मदिरा उत्पादन गर्न प्रयोग हुने मेसिन, ग्याँस चुल्हो, ग्याँस सिलिण्डर, प्लाष्टिकका भाँडा लगायतका सरसामग्री बरामद गरिएको सर्लाही प्रहरीले जनाएको छ ।