रौतहट , ८ पुष//
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पर्साको जगरनाथपुरमा आयोजित विशाल जनसभामा नेकपा माओवादी केन्द्र बाट निर्वाचित गाउँपालिकाका अध्यक्ष जालिम मियाँको नेतृत्व पार्टी प्रवेश गर्ने हजारौँ नेता–कार्यकर्तालाई स्वागत गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै क्षेत्रका नेपालीहरुको प्रतिनिधित्व गर्ने पार्टीका रुपमा स्थापित नेकपा एमालेले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने विश्वास दिलाउँदै त्यसका लागि देशभर यस्ता पार्टी प्रवेश कार्यक्रमहरु भइरहेको उल्लेख गरे ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय कमिटी सदस्यद्वय निर्मला देवकोटा र राजकुमार गुप्ता, प्रदेश कमिटी सदस्य जयप्रकाश थारु, जालिम मियाँलगायतले आफ्नो धारणा राखेका थिए ।
पर्सा जिल्ला इन्चार्ज तथा अध्यक्ष प्रभु हजाराको अध्यक्षता र सचिव मनोज गुप्ताको सञ्चालनमा आयोजित कार्यक्रममा पार्टी सचिव तथा प्रदेश नम्बर दुईका इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साहलगायतका पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।


