महोत्तरी , १७ असार //
महोत्तरीबाट अख्तियारको नक्कली प्रहरी निरीक्षक भनि ठगि गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा जिल्लाको जलेश्वर नगरपालिका १२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन्।
जलेश्वर १२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीनैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बिहीबार साँझ जलेश्वर १२ नैन्ही गाउँस्थित सीमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा तीनै जनालाई प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रहरीले पाँच हजार ८ सय भारु बरामद गरेको छ।
आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा तीनैजनालाई राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


