पर्सा, ३० भदौ //
पर्साबाट चरेश ओसार प्रसारमा संलग्न रहेको आरोपमा तीन जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरको मनहरी गाउँपालिका–८ बस्ने ४२ वर्षीय कल्पना मोक्तान, ३६ वर्षीय कवितामाया बल र २३ वर्षीय रीता विश्वकर्मा रहेकी छन्।
तीनजना मध्ये एक महिलाको साथमा दुधे बच्चा पनि रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कल्पना र कवितामायाको साथबाट १३ किलो ८ सय ग्राम चरेश फेला परेको र रीता पनि सोही समूहको भएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कल्पनाको साथबाट ८ किलो ६ सय ९० ग्राम कवितामायाको साथबाट ५ किलो १ सय १० ग्राम गरी १३ किलो ८ सय ग्राम लागु औषध चरेश फेला परेको हो ।
बुधबार साँझ साढे ७ बजे पर्सागढी नगरपालिका–२ बागवानाबाट अस्थायी प्रहरी पोष्ट मनवाको टोलीले जीतपुरबाट मनवातर्फ जाँदै गरेको ना. २ ह ३१८६ नम्बरको अटो रोकेर चेकजाँच गर्ने क्रममा अटोमा सवार उनीहरुले बोकेको झोला खानतलासी गर्दा १३ किलो ८ सय ग्राम लागु औषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुमाथि लागु औषधविरुद्धको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


