रौतहट १ जेठ। गएको वैशाख २९ गते राजपुर बाट प्रहरीले बरामद गरेको सवै मलखाद गौर भन्सारले तस्कर सग मिलेर लिलाम गरेको नाटक गरेको पाइएको छ ।
भन्सार कार्यालय गौरका प्रमुख वासु नेपाल र नायब सुब्बा रेवती रोक्काले चलखेल गरी तस्कर संग मिलेर मलखाद तस्करहरुलाई नै लिलाम गराएकाे नाटक गरेका छन ।
गौर भन्सार कार्यालयले जेठ १ मा ८०३ बोरा युरिया, ४७९ बोरा डिएपी र २४ बोरा पोटासलाई लिलाम बढाबढ गरिने सूचना जारी गरेको केही घण्टा भित्रै मिलेमतोमा लिलाम गरेको हो।
प्रमुख नेपालले सूचना निकालेको केही बेरमै आधा मूल्यमा रासायनिक मल तस्करको जिम्मा लगाउँदै राजस्व कम गराएको वताइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरी बल नेपाल गौरको टोलीले २०,लाख २,हजार ६० मूल्य कायम गरेको मलखाद गौर भन्सारले १० लाख रुपैयाँमा चन्द्रपुरका एक व्यापारी संग मिलेर बिक्री गरेको बताइएको छ ।
सो रासायनिक मलको बजार मूल्यभन्दा आधा मा मूल्याङ्कन गरी भन्सार प्रमुखले लिलामी प्रकृया मिलाएर एजेन्टमार्फत तस्करलाई जिम्मा लगाएको जानकारहरुको भनाइ छ ।
गत शुक्रबार साँझ राजपुर नगरपालिका ५ स्थित घरबाट १ हजार ३ सय बोरा रासायनिक मल बरामद गरेको थियो। आइतबार गौर भन्सार कार्यालयमा दाखिला गरिएको मल सोमवार सवेरै हतारहतारमा प्रकृया पूरा गरी लिलामी गरेको थियो ।
गौर भन्सार कार्यालयका प्रमुख वासु नेपालले हतारमा लिलाम नगरेको भन्सार कार्यालयमा मल राख्ने ठाउँ नहुदा कम्पाउन्डमा राखिएको मल वर्षाले बिग्रिँदा राजस्व समेत गुम्ने भएकाले लिलाम गरिएको बताएका छन ।
तस्करसँग साठगाँठ गरी लिलाम गरेको भन्ने सत्य नभएको गौर भन्सार प्रमुख नेपालको भनाई छ ।
गौर भन्सार कार्यालयका मुद्दा फाँटका नासु रेवती रोक्काले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नगरपालिका, कोष तथा लेखा नियन्त्रण कार्यालय तथा स्थानीय उद्योग वाणिज्य संघका प्रतिनिधिको रोहबरमा रासायनिक मलको लिलामी प्रकृया बढाएको बताएका छन ।
बरामद मल राजपुरकै जय मा दुर्गा इन्टरप्राइजेजले लिलाम स्वीकार गरेको नासु रोक्काले जानकारी दिएका छन्।


