रौतहट १० साउन ।आम जनता पार्टी ले प्रेस विज्ञप्ति निकालेर आफ्नो पार्टीको अध्यक्ष को बिषयमा आएको समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका अध्यक्ष तथा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद प्रभु साहको नाम जोडेर सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा ( माके), एकीकृत समाजवादी, जसपा, जनमत र लोसपा गरी ६ दलले संयुक्तरुपमा गरेको प्रदर्शन र सो विषयसंग जोडिएर विभिन्न सञ्चार माध्यमहरुमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको सो पार्टी ले जनाएको छ ।
जनताको हक अधिकार वा पीडितहरुलाई न्याय दिलाउन एकजुट हुनुको सट्टा एकाएक विगत १७ वर्षदेखी अनवरत न्यायको पर्खाईमा रहेका बीभत्स गौर हत्याकाण्डका पीडितहरुले न्याय पाउने सम्भावना बढेसंगै हत्याकाण्डका अपराधी र तीनका संरक्षकहरु आतंकीत भई हताश मनोविज्ञानका साथ यसरी संगठित हुनुले काफी कुराको संकेत गरिरहेको सो पार्टीले उल्लेख गरेको छ ।
तिनै तहको न्यायालयबाट न्याय निरुपण हुँदा कहींकतै प्रभु साहको नाम निशान समेत नआएको विषयमा पूर्वाग्रही भई कपोकल्पित, आधारहिन र झुठा आरोप लगाएर अदालतको मानहानी समेत हुनेगरी लोकप्रिय जनप्रतिनिधीको यसरी चरित्र हत्याको दुष्प्रयास गरिनु नितान्त खेद एवं घोर भर्तस्ना योग्य विषय भएको सो पार्टी ले जनाएको छ ।
यदि सत्तारुढ गठबन्धनले लगाएको आरोपमा थोरैपनि सत्यता छ भने यसलाई प्रमाणित गर्न आम जनता पार्टी ले खुल्ला चुनौती दिन चाहेको बिज्ञप्तीमा भनिएको छ । सत्ताको उन्मादपूर्ण दुष्प्रयासलाई तुरुन्त बन्द गरी सार्वजनिक रुपमा माफी माग्दै गौर हत्याकाण्डका अपराधीहरुलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन मार्ग प्रशस्त गरी सहयोग गर्न सम्बन्धित सबै पक्षहरुसंग माग गरेको सो पार्टीका प्रबक्ता चन्द्र भुषण साह ले बिज्ञपति मार्फत आग्रह गरेका छन ।
मंगलवार सत्तारुढ ६ दलले अन्तरराष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास वैरागी, शिक्षक सुनिल यादव, स्वास्थ्यकर्मी शुरेश यादव र हिन्दुवादी नेता काशीनाथ तिवारीको हत्या गराउने अभियुक्त तत्कालिन माओवादीका नेता हाल आम जनता पार्टीका अध्यक्ष प्रभु साह रहेको आरोप लगाउदै आन्दोलन भएको हो ।
प्रदर्शनकारीहरुले प्रजिअ धर्मेन्द्रकुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
२०६३ चैत ७ गते मधेशी जनअधिकार फोरम र तत्कालिन नेकपा (माओवादी) काे भातृ संगठन राष्ट्रिय मधेशी मुक्ति मोर्चाले एकै स्थानमा सभा गर्न खोज्दा झडप भएको थियो ।
१७ बर्ष अघि भएको गौर राइस मिल्समा आत्मरक्षाका लागि गरिएका प्रयासहरुलाई झुठा मुद्दा बनाएकोमा त्यस्ता झुठा मुद्दाका जाहेरी खारिज गर्न र नेपाल सरकार एवं प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र पठाउनुका साथै जिल्ला प्रहरी कार्यालयले उक्त मुद्दा तामिलिमा राख्न अनुरोध गर्दै सर्वदलिय,सर्वपक्षिय संयुक्त संघर्ष समितिले बिज्ञप्ति निकालेको थियो ।