रौतहट ०७,फाल्गुन । श्रमजिवी पत्रकारहरूको सशक्त संगठन प्रेस चौतारी नेपाल रौतहटको आठौं जिल्ला अधिवेशनले अशोक पहाडीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्दै नयाँ नेतृत्व चयन गरेको छ । चन्द्रपुरस्थित होटल हिमालयमा सम्पन्न बन्द सत्रमा पहाडीको नेतृत्वलाई सर्वसम्मति प्रदान गरिएको हो ।
नवगठित कमिटीमा उपाध्यक्षमा कृष्ण तिवारी, महिला उपाध्यक्षमा मञ्जु मानन्धर, सचिवमा मुकेश कुमार साह, सहसचिवमा राकेश यादव र दीपेन्द्र रजक तथा कोषाध्यक्षमा अशोक यादव चयन भएका छन्। केन्द्रिय परिषद सदस्यमा आदर्श उपाध्याय र अर्पणा झा, प्रदेश परिषद सदस्यमा देवेंद्र प्रसाद यादव र गौरी न्यौपाने चयन भएका छन्।
कार्यक्रममा समाजवादी प्रेस संगठनमा सक्रिय रहेका झा अब चौतारीभित्र नयाँ उर्जाका साथ सक्रिय हुने भएका छन्। झासँगै केन्द्रीय सदस्य कृष्ण तिवारीले पनि चौतारीमा पुनरागमन गरेका छन् ।
उनीहरूलाई चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, वरिष्ठ नेता विश्वमणि सुवेदी, महासचिव हिरामान लामा, नेकपा एमालेका नेताहरू तथा चौतारीका पदाधिकारीहरूले भव्य स्वागत गरेका छन् । झा र तिवारीको पुनरागमनले चौतारी थप बलियो बनेको नेताहरूले बताएका छन् ।
अधिवेशनको उद्घाटन कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, महासचिव हिरामान लामा, नेकपा एमालेका केन्द्रीय सदस्य अजय गुप्ता, मधेश प्रदेश महासंघ अध्यक्ष श्याम बञ्जारा, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, एमाले नेता उद्धव रेग्मी, जिल्ला सचिव बाबुराम दहाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता उत्तम उपाध्यायले गरेका थिए भने सञ्चालन बालविक्रम कार्कीले गरेका थिए । स्वागत मन्तव्य मञ्जु मानन्धरले दिएकी थिइन् ।
अधिवेशन सफलतापूर्वक सम्पन्न भएसँगै नयाँ नेतृत्वले संगठन सुदृढीकरण, पत्रकार सुरक्षाको प्रत्याभूति, तथा निष्पक्ष र सशक्त पत्रकारिताका लागि प्रतिबद्धता व्यक्त गरेको छ। चौतारीलाई अझ क्रियाशील बनाउने, पत्रकारका हकहितका मुद्दा उठाउने र संगठनलाई विस्तार गर्ने लक्ष्यसहित नयाँ कार्यसमिति अघि बढ्ने बताइएको छ।