मुकेश कुमार साह,रौतहट ०३ फाल्गुन – चन्द्रपुर नगर उद्योग वाणिज्य संघको आयोजनामा “प्रादेशिक औद्योगिक मेला चौथो चन्द्रपुर महोत्सव २०८१” आगामी फाल्गुण ५ गतेदेखि १७ गतेसम्म तुलसीलाल अमात्य स्मृति रंगशालामा आयोजना हुने भएको छ।
कृषि, पर्यटन, उद्योग, व्यापार—समृद्धिको मुख्य आधार” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको चौथो चन्द्रपुर महोत्सव २०८१ व्यापार, पर्यटन, कृषि र मनोरञ्जनको अद्वितीय संगम बन्ने भएको हो । स्थानीय एवं राष्ट्रिय कलाकारहरूको प्रस्तुति, विभिन्न व्यापारिक स्टलहरू, बालउद्यान तथा खेलकुद सामग्रीहरूसहित यो महोत्सव चन्द्रपुरवासीहरूका लागि विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको हो ।
महोत्सवबारे जानकारी दिन आज चन्द्रपुर उद्योग वाणिज्य संघका अध्यक्ष उदय सापकोटा सुरेन्द्रको अध्यक्षतामा आयोजित प्रेस मिटमा महासचिव जनकराज भारतीले विस्तृत जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन सहसचिव अवधेशहरी भट्टराईले गरेका थिए।
मधेस प्रदेश सरकारको मुख्य सहयोगमा आयोजना हुने महोत्सवको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्रीले फाल्गुण ५ गते दिउँसो १ बजे गर्ने कार्यक्रम तय गरिएको छ।
महोत्सवको उद्घाटन समारोहअघि बिहान ११ बजे जनज्योति माध्यमिक विद्यालय प्राङ्गणबाट शोभायात्रा निस्कनेछ। चन्द्रपुरमा सक्रिय विभिन्न संघसंस्थाहरूको पहिचान झल्कने झाँकी, बाजागाजा, भेषभूषा तथा सांस्कृतिक कार्यक्रमसहित उक्त शोभायात्रा नगर परिक्रमा गरी महोत्सव स्थलमा प्रवेश गर्नेछ। बालउद्यान, टेन्ट, स्टल, स्टेज र लाईटका कामहरू अन्तिम चरणमा पुगेका छन् भने ११५ व्यापारिक स्टलमध्ये आधाजसो स्टल बुकिङ भइसकेका छन् ।
फाल्गुण ६ गतेदेखि महोत्सव प्रवेशका लागि रु. १०० को टिकेट अनिवार्य हुनेछ। यस टिकेटमार्फत दर्शकहरूले महोत्सवमा सहभागी भएका स्थानीय नवप्रतिभा कलाकारहरूमध्ये मन परेको कलाकारलाई भोट हाल्न सक्नेछन्। समापनका दिनसम्म सबैभन्दा बढी भोट प्राप्त गर्ने चार जना कलाकारलाई विशेष पुरस्कार प्रदान गरिनेछ। यसका साथै, बागमती इन्टरटेन्मेन्ट प्रा. लि. का बागमती भरत ताल स्टलमा महोत्सव प्रवेश टिकेट देखाएर ५०% छुटमा टिकट खरिद गर्न सकिनेछ भने फाल्गुण महिनाभित्र भरत तालमा गएर प्रयोग गर्न मिल्ने टिकेटमा २५% छुट दिइनेछ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति विशेष आकर्षणका रूपमा रहनेछ। चर्चित लोक तथा आधुनिक गायकगायिका, कमेडियन, नृत्य कलाकार, जादूगर तथा भोजपुरी कलाकारहरूको दमदार प्रस्तुति रहनेछ। महोत्सवमा रमेश मेलोडी, रचना शिवाकोटी, अस्मिता कार्की, श्रीकृष्ण लुइटेल (बोके दारी), ढाकाराम पौडेल, ज्योति मगर, रुद्रसेन विश्वकर्मा, समीक्षा अधिकारी, प्रमोद जख्मी, बलराम सरकार (विश्व कीर्तिमानी जादूगर), कृष्ण काफ्ले, सुनिल पण्डित, रचना रिमाल, आदर्श मिश्र, डिजराज पौडेल, खबपु चञ्चल मगर, जोशना दर्लामी मगर, मञ्जु पौडेल, ल्याङ्रे दादा, कोमल ओली, कर्णराज गिरी, शिवशंकर रिजाल, मिस्टर डी, दुर्गेश थापा, रविराज शाह, एलिना चौहान, सम्झना लामिछानेलगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन् ।
यस महोत्सवलाई एनसेल, गोर्खा ब्रुअरी, जावलाखेल ग्रुपले आर्थिक रूपमा सहयोग गरेका छन् भने महालक्ष्मी विकास बैंक बैंकिङ पार्टनरको रूपमा, बागमती इन्टरटेन्मेन्ट पर्यटन पार्टनरको रूपमा, वर्ल्ड लिङ्क र सुबिसु इन्टरनेट पार्टनरको रूपमा तथा पत्रकार महासंघ रौतहटले मिडिया समन्वयको जिम्मेवारी लिएको छ ।