रौतहट ६ भदौ । आइतवार श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदैछ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने चलन छ ।
तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरि मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।
आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरि तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरि एक छाक मात्र खाएर चोखो गरि बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गइ गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् ।
स्नानपछि जौ, तिल र कुश ऋषिहरुलाई तर्पण गरि वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।श्रावणी कर्म।।
बिहान उठेर नदिमा माटो, गोबर, पञ्चगव्य, भस्म, सर्वौषधि, पञ्चामृत, सप्तधान्य, फल, सुवर्ण, कुशोदक, दूबो, अपमार्ग जस्ता वनस्पतिजन्य सामाग्रीद्वारा स्नानको परम्परा रहेको छ।
रक्षा सूत्रको पूजन र जनै मन्त्रणा गरेर, रक्षा बन्धन तथा यज्ञोपवित धारण गरिन्छ। स्नान गरेर भएको चिसोबाट जोगिन नौ प्रकारका गेडागुडी मिसाइएको क्वाटि खाने परम्परा पनि छ। दिदिबहिनीको हातबाट राखी(रक्षाबन्धन) बाधेर पनि यो पर्व मनाइन्छ।