रौतहट २९ साउन // कुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्या आरोपमा १० वर्ष पछि पक्राउ परेका अभियुक्त अदालत बाट सामान्य तारेखमा छुटेका छन ।
हत्याको १० वर्ष पछि फरार अभियुक्त पक्राउ परेपछि पिडितले न्याय पाउने आशा राखेका थिए ।
२०६८ असार २३ गते गौरमा प्रेमपुर गोनाही १ का ५० वर्षीय खेलाडी उपेन्द्र दास बैरागीको गोली हानी हत्या भएको थियो ।
घटनाको १० वर्ष पछि प्रेमपुर गोनाही गा.वि.स. वडा नं. ३ हाल देवाही गोनाही नगरपालिका वडा नं. ७ बस्ने सोनफी पासवान भन्ने सोनफी हजरालाई गौर ५ बाट प्रहरीले ३ दिन अघि पक्राउ गरेको थियो ।
आरोपी हजरालाई शुक्रवार जिल्ला अदालत रौतहटमा पेश गरिएको थियो । जिल्ला अदालतका १ नम्बर इजलाशका न्यायधिश काजिबहादुर राईको आदेशमा उनलाई सामान्य तारेखमा छाडिएको हो ।
प्रहरीले २०६८ साउनमा नै अनुसन्धान पुरा भएको भन्दै मुद्दा अदालतमा बुझाएको र अदालतले दिएको आदेश अनुसारनै कर्तव्य ज्यान मुद्दामा फरार हजारालाई प्रहरीले पक्राउ गरेको थियो ।
अभियुक्तलाई सामान्य तारिखमा छाडिएको प्रति पीडित परिवार तथा शुभचिन्तकहरुले दुखेसो पोखेका छन । तर जाहेरवाला ले नै हजरा सो घटनामा निर्दोश रहेको अज्ञात व्यक्तिले हत्या गरेको बयान दिएको पाइएको छ ।