पर्सा,२२ भदौ //
वीरगञ्जबाट विभिन्न अवैध सामानसहित दुईवटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।
गए राती ११ बजेको समयमा वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक सडकखण्डको बाटोबाट ना ३ ख ५१६५ र ना ३ ख ५५२५ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
पुरानो मितिको प्रज्ञापन पत्र देखाउँदै त्यसमा उल्लेखित मालवस्तुको सट्टा भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ताकपडा लगायत अन्य मालवस्तु लोड गरी चितवन लैजाँदै गरेको सूचनाको आधारमा सो ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रक रोकेर जाँच गर्ने क्रममा चालकहरु भागेकाले थप शंका उत्पन्न भएको हो। गाडीमा भएको प्रज्ञापन पत्र हेर्दा ना ३ ख ५१६५ मा २०७७ माघ २२ गते र ना ३ ख ५५२५ मा २०७८ साउन २१ गतेको प्रज्ञापन पत्र भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।
तर बिलमा भने हाल सालैको मिति उल्लेख भएकाले गाडीमा रहेका सामानहरु प्रज्ञापन पत्र बमोजिम नरहेकोले ट्रक नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
ट्रक र समानको मूल्य ८० लाख रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।