रौतहट,११ असोज //
रौतहटको चन्द्रपुर—३ गैडाटारमा हत्याकाण्डमा सम्लग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासीका सूर्य बहादुर भण्डारी, गैडाटारका प्रल्हाद फुयाल, पर्सागढीका रमेश पहरी रहेका छन्।
गत भदौ २६ गते गैडाटारमा रहेको कालापानी सामुदायिक वनको जंगलमा रुखको हाँगामा गम्छाको पासो लगाएर झुण्डीएको अवस्थामा ५० वर्षिय रोहिणी प्रसाद घोरासैनीको शव फेला परेको थियो ।
हत्या गरेर शवलाई रुखमा झुण्डाउदै आत्महत्याको स्वरुप दिए पनि प्रहरीले घटना शंकास्पद रहेको भन्दै छानबिन टोली गठन गरेर अनुुसन्धान प्रक्रिया अगाडी बढाएको थियो ।
घटनाको छानबिन गर्ने क्रममा प्रहरीले पर्साबाट २४ वर्षिय रमेश पहरीलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका पहरीले आफुलाई सहदेव भन्ने डोलप्रसाद वोलखेले घोरासैनीको हत्या गर्न ३ लाख रुपैया दिने सम्झौता गरेको बताए पछि हत्याको रहस्य खुलेको रौतहटको प्रहरी प्रमुख बिनोद घिमिरेले जानकारी दिएका छन्।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनामा संलग्न तिन अभियुक्तलाई सोमबार सार्वजनिक गरेको हो ।
चन्द्रपुर ४ कप्तान टोलका सहदेव वोलखेको घरका सदस्यहरु बिरामी भइरहेने भए पछि गाँउमै धामीको काम गर्ने रोहिणी प्रसाद घोरासैनीलाई त्यसको दोष लगाउदै उनकै कारणले घरका मान्छे रोगी भएको भन्दै हत्या गर्ने योजना बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
बोलखेले करिब १८ वर्ष पहिले पनि घोरासैनी माथि वोलखेले हत्याको प्रयास गरेका थिए ।