रौतहट ,२८ भदौ //
मनसुनी गतिविधि कमजोर हुँदै गएकाले पानी पर्न कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्थानीय वायुको प्रभावका कारण देशका केही ठाउँमा भने ठूलो पानी पर्न सक्ने मौसमविद् मिनकुमार अर्यालको अनुमान छ। स्थानीय वायुको असरले मेघगर्जनसहित खण्डखण्ड भएर ठूलो पानी पर्ने मौसमविद् अर्यालले बताए ।
नेपालमा सामान्यतया जुन १० तारिखमा मनसुन भित्रन्छ भने सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ ।
तर, यसमा केही दिन घटबढ भने हुने गरेको छ ।
आज सेप्टेम्बर १३ तारिख भइसकेको कारण पनि अब लगातार ठूलो झरी पर्ने सम्भावना कमै रहेको मौसमविद् अर्यालले बताएका छन् ।
आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएको छ।