रौतहट २५,भाद्र/ तराई मधेसमा मनाईने चैठचन्द्र (चौरचन) पर्व आज मनाइँदैछ । निकै आस्थाको रुपमा लिइने सो पर्व आज तराई मधेशको जिल्लामा मनाइँदैछ । भदौ शुक्ल चतुर्थीको दिन मनाउने यो पर्वमा किसानको खेतबारीमा उत्पादन हुने सम्पूर्ण फलफूलको पूजा हुन्छ । केरा, अम्बा, मकै, सरिफा, कागती, काँक्रो, ओल, नरिवल, अनारलगायतका फलसहित खीर पुरी प्रसादको रुपमा साँझ अर्पण गरिन्छ । चौरचन पर्वमा चन्द्रमाको पूजा हुने भएकाले यसले पुन्य प्राप्त हुने गरेको ब्रतालुहरु बताउँछन् । चौरचनका दिन ब्रतालुहरुले निराहार व्रत बसी साँझको समयमा भगवान गणेश र चन्द्रमालाई विभिन्न प्रकारका फलफू तथा खीर र पुरी अर्पण गर्ने गर्छन् । यस पर्वमा चन्द्रमाको बिशेस पुजा हुन्छ । गाउँघर बस्तीमा राती सानातिना बिग्याँई गर्दा छिमेकीले गाली गरेपछि चन्द्र दर्शनको दोष मेटिने विश्वास रहेको छ । तर, दोष मेटाउन बिग्याँई गर्न पर्ने पुरानो परम्पराभने ठिक नरहेको नयाँ पुस्ताका युवा बताउँछन् । प्रदेश—२ भरि नै उल्लास र भक्तिसाथ मनाइने यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र भन्ने गरिएको पाइन्छ ।