रौतहट १४ असोज ।
एकबर्ष अघि देखि शुरु गरीएको गणनामा रौतहटको जंगलमा ४ वटा बयस्क बाघ रहेको फेला परेको छ ।
गतबर्षको माघ २ गते देखि क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनामा जिल्लाको बनक्षेत्रमा चार वटा बाघ फेला परेको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र जुओलोजिकल सोसाइटी अफ लन्डन तथा डिभिजन वन कार्यालय रौतहटसँगको सहकार्यमा बाघ गणना शुरु गरेको थियो ।
रौतहटमा धनसर खोला पूर्व, वाग्मती खोला पश्चिमको वन क्षेत्रको गैंडाटार, जुडिबेला, चोचा, सिम्री , नुनथर लगाएतका स्थानमा १७ जोर क्यामेरा जडान गरिएका थिए ।
प्रत्येक ५ वर्गकिमि वनक्षेत्रमा एकजोडी र बाघको आवतजावत हुने शंकास्पद स्थानमा दुइजोडी क्यामेरा जडान गरिएको थियो ।
वनक्षेत्रसंग जोडिएको रौतहटको मानवबस्तीहरूमा स्थानीयको चौपाया बाघले आक्रमण गरेको , मानवलाइ समेत आक्रमण गरे पछि बाघ गणना गरीएको हो । रौतहटमा फेला परेका बाघहरु पर्सा राष्ट्रिय निकुन्जबाटै गएको हुनुपर्ने पर्सा राष्टिय निकुन्जले जनाएको छ ।
केही महिना अघि रौतहटको चन्द्रपुर ६ का एकयुवक बाघको आक्रमणबाट मारीएका थिए भने जिल्लामा पछिल्लो समय बाघले आक्रमण गर्दा ४ जना घाइते भएका थिए ।