रौतहट १२ कार्तिक//
रौतहटको गरुडामा एक पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ। गएराती गरुडा नगरपालिका वडा नं.४ गरुडा बजारमा रहेको शशीभूषण साहको घरमा रहेको साहु ट्रेड कन्सर्नमा शुक्रबार बिहान आगलागी आगलगी भएको हो ।
आगलगीबाट घरमा रहेको सम्पुर्ण समाग्री तथा घर जलेर नष्ट भएको ट्रेडका सन्चालक मिनु कुमारी साहले बताएका छन् ।
मेसिनरीको थोक बिक्रेता रहेको साहको मूल पसलमा आगलागी हुँदा १० करोड जति क्षति भएको बुझिएको छ।
शुक्रबार बिहान गस्तीमा रहेको प्रहरी टोलीले आगोको राप घर बाहिर आएको देखेपछि नियन्त्रणको प्रयास गरेको थियो।
आगलागी नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भन्डारीको नेतृत्वमा धेरै संख्यामा प्रहरी परिचालन गरेको थियो। नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पनि आगलागी नियन्त्रणका लागि प्रयास गरेको थियो। गौर र चन्द्रनिगाहपुरबाट आएका दमकलहरूले बिहान ६ बजेसम्म आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी रौतहट प्रमुखलगायतले पनि घटनास्थलको निरीक्षण गरेका छन्।
समयमा दमकल आउन सकेको भए बढी क्षति हुनबाट जोगाउन सकिने पीडितले बताएका छन्। कम्तीमा बीस किलोमिटर टाढाबाट दमकल आउन केही ढिला हुँदा धेरै क्षति पुगेको पीडित साहको भनाइ छ। घरभित्रका मेसिनरी पार्ट्स, मोबिलका साथै दुई तला घर पनि काम नलाग्ने भएको पीडितले बताएका छन्।
आगलागीको कारणबारे यकिन हुन नसके पनि बिजुली सर्ट भई आगो लागेको हुन सक्ने अनुमान गरिएको छ।