सर्लाही,२४ असोज //
सर्लाहीको मुख्य मलंगवा भन्सार नाका दुईतर्फी रुपमा संचालनमा आएको छ।
शनिबारबाट दुईतर्फी रुपमा सवारी साधन ओहोरदोहोर हुन थालेको हो।
नेपाली पक्षबाट केही साताअघि नै नाका सूचारु गरिएपनि भारतीय पक्षले रोक लगाएका कारण सवारी साधन आवतजावत भएको थिएन ।
कोरोना भाईरस संक्रमणका कारण २०७६ चैत १० गते १० बजेबाट बन्द रहेको सर्लाहीको सिमा नाका शनिबारबाट सूचारु भएको छ।
त्यतिखेर जिल्ला स्थित १५ वटै नाका बन्द गरिएको थियो । भारतीय पक्षले खोलेसँगै सवारी साधन आवागमन बढेको स्थानीय बासिन्दाले जनाएका छन् ।
हाललाई मलंगवा नाकामात्र खुलेको र पछि क्रमशः अन्य नाकाहरुबाट पनि सवारी साधन ओहोर दोहोर हुने बताईएको छ ।
भारतीय पक्षले पनि नाका खुला गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।
औपचारिक रुपमा नाका नखुल्दा सर्वसाधारणहरु खेत खोला खोल्सी भएर पैदल आवतजावत गरिरहेका थिए । नाका खुलेसँगै दुवै देशका सर्बसाधारण एवं व्यवसायीहरुमा खुशियाली छाएको छ ।