रौतहट ,३१ असोज //
आजदेखि देशका अधिकांस स्थानमा सामान्यदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम र केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि वर्षाको सम्भावना रहेको हो।
महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ ।प्रदेश नं १, २ र वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ ।
आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारी हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।