रौतहट , ७ कत्तिक //
लोकतान्त्रिक गठबन्धनले देशलाई ठूलो दुर्घटनाबाट बचाएको जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवम् लोकतान्त्रिक गठबन्धनका नेता उपेन्द्र यादवले बताएका छन्।
शनिवार रौतहटको सुकदेव चौकमा आयोजित बृहद् पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले वर्तमान लोकतान्त्रिक गठबन्धनले देशलाई ठूलो दुर्घटनाबाट बचाएको बताएका हुन्।
उनले लोकतान्त्रिक संघीय गणतन्त्रलाई कमजोर बनाउने, समावेशीतालाई कमजोर बनाउने, संसदलाई कमजोर बनाउने, संवैधानिक निकायलाई कब्जा गर्ने, निर्वाचन आयोगलाई कब्जा गरी स्वेच्छाचारी ढंगबाट शासन चलाउने केपी शर्मा ओलीको कुत्सित मानसिकतालाई विफल पार्दै अहिलेको लोकतान्त्रिक गठबन्धनले सरकार गठन गरेर देशलाई ठूलो दुर्घटनाबाट बचाएको स्पष्ट पारेका छन्।
संघीय शासन व्यवस्थालाई नै धरापमा पार्ने षड्यन्त्र केपी शर्मा ओलीले गरेको र उक्त षड्यन्त्रलाई लोकतान्त्रिक गठबन्धनले चिरेर संसदलाई जोगाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका खेलेको यादवले बताएका छन्।
देशको संघीय लोकतन्त्रलाई बचाउनु वर्तमान लोकतान्त्रिक गठबन्धनको दायित्व भएको समेत उनले बताएका हुन्।