नवराज चौलागाईं, निजगढ,२७ आश्विन । खानेपानी मन्त्री उमाकान्त चौधरीले नागरीकलाई सर्वसुलभ ढंगबाट शुद्ध खानेपानी उपभोग गराउनु आफ्नो प्रथम उद्धेश्य रहेको जनाउनुभएकोछ । विजयादशमी,शुभादिपावाली र छठ पर्वको अवशरमा नेपालि कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा क ले बुधबार निजगढमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री चौधरीले राजधानी काठमाडौंका नागरीकहरुले उपभोग गर्ने मेलम्ची खानेपानी आफ्नो प्राथमिकता रहको समेत जनाउनुभयो । चैत्र मसान्त भित्र काठमाडौंमा मेलम्चीको खानेपानी ल्याएर आगामी नँया वर्षदेखि काठमाडौं उपत्यकावासीले उपभोग गर्न पाउनेगरी काम अघि बढाउन निर्देशन दिएको जनाउनुभयो । आफ्नो कार्यकालमा नागरिकले अपेक्षा गरे बमोजिम योजना बनाएर अघि बढ्ने मन्त्री चौधरीको प्रतिबद्धता रहेकोछ । चौधरीले बाराको खानेपानी समस्यालाई आफुले राम्रोसंग पहिचान गरेकोले खानेपानी समस्या समाधानाकोलागी आवश्यक कार्ययोजना सहित अघि बढ्ने बताउनुभयो । कार्यक्रममा निजगढका मेयर सुरेश कुमार खनालले निजगढको चुरे र चुरे भावर क्षेत्रमा खानेपानीको जटिल समस्या रहेकोले मन्त्रालयबाट समस्या समाधानाकालागी योजना अघि बढाउन आग्रह गर्नुभयो । मेयर खनालले चुरे र आसपासको ग्रामिण भेगका नागरिकहरुले खानेपानीको अभावका कारण अप्ठेरो परिस्थिति सामना गरिरहनुपरेको जनाउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालि कांग्रेसका नेता पेमासिद्धि लामाले बारा जिल्लाको खानेपानी समस्या पहिचान गरेर द्रुत गतीमा समस्या समाधान गर्नकोलागी मन्त्री चौधरीलाई ध्यानाकर्षण गराउनुभयो । नेपालि कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा क का सभापति बद्री प्रसाद भट्टको सभापतित्वमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा नेपालि कांग्रेस बाराका नेता रामानन्द यादव,नेपालि कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ख का सभापति देवदत्त बछार,महाधिवेशन प्रतिनिधि माला लामा,रमाकान्त साह लगायत नेपालि कांग्रेस बाराका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेकोथियो । कार्यक्रममा नेकपा एमाले,माओवादी केन्द्र र राप्रपा परित्याग गरेका निजगढका विभिन्न वडाका युवाहरु नेपालि कांग्रेसमा प्रवेश गरेकाथिए ।