रौतहट , १६ कात्तिक //
हिन्दुहरुको दोस्रो महान पर्व तिहार सबैको घरदैलोमा आइसकेको छ।
आजबाट यमपञ्चक शुरु भएको छ। यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरू रहेका छन्। आज धन त्रयोदशी अर्थात् धनतेरश रहेको छ ।
विशेषगरी दिपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ। आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ ।
धन्तेरसको व्रत बसेर आज पवित्र मनले अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन रही आएको छ ।
धन्तेरसको दिन कमलको पुष्पासनमा बसेकी माता लक्ष्मी र गणेश को मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ। धन्तेरसको अवसरमा भाँडाकुँडा खरिद गर्दा जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किनेपनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ ।
मूर्ति लिँदा ध्यान लक्ष्मी कमलको पुष्पासनमा बसेकै हुनुपर्दछ, उभिएको हुनुहुँदैन । यसो गर्नाले अन्नले भरिपूर्ण तथा स्थायी लक्ष्मीको बास हुन्छ ।
धन्तेरसको दिन कौडी, कमलगट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको कौडी कमलगट्टा र सिङ्गो धनियाँ लक्ष्मी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिलै नहुने र मानसिक शान्ति मिल्नेछ ।
आजको दिनबाट लक्ष्मी उत्सव शुरु हुने भएको हुनाले आजपनि लक्ष्मी माताको विशेष पूजा अर्चना गर्नु महत्वपूर्ण मानिन्छ।