रौतहट , २३ कात्तिक //
छठ पर्वको आज दोस्रो दिन ब्रतालुहरु ‘खराना’ मनाउने तयारी गर्दै छन्। दिनभरी ब्रत बसेर बेलुका नैवेध चढाएर सक्खर हालेर बनाइएको खीर, मुला, केरा खाने गरिन्छ, जसलाई ‘खरना’ भनिन्छ ।
चार दिनसम्म मनाइने यो पर्वमा सूर्यको पूजा आराधना गरिन्छ । ब्रतालुले उदाउँदै र अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर पूजा गर्छन् ।छठ पर्वको पहिलो दिनलाई ‘नहाय खाए’ भनिन्छ ।
पहिलो दिन ब्रतालुहरुले आफ्नो भान्सा घरलाई सफा पारी चोखो बनाउँछन् । नङ काटेर नुहाईधुवाई गरी चोखो भई लसुन र प्याज नभएको चोखो खाना खाने गर्दछ ।
बुधबार छठ घाटमा गई अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ भने बिहीबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ ।
अत्यन्त निष्ठा एवम् पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले छठ ब्रतालुहरु महिना दिन अघिदेखि नै यसको तयारीमा व्यस्त हुन्छन् र बिभिन्न कुराहरु बार्ने गर्दछन् ।
शुद्धतामा बिशेष ध्यान दिएर यो पर्व मनाउने गरिन्छ ।छठ पर्वका लागि बाँसको चोयाले बनाइएका टोकरी, सुपली, नाङ्लो, माटोबाट बनाइएका भाँडाका साथै नरिवल, मिठाई, केराउ, सुथनी, अदुवा, उखु लगायतका सामाग्रीहरु आवश्यक्ता पर्छ ।
छठ पर्वमा भगवान सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाई, उखु, नरिवल, पान, सुपारी, वयर, सिंघडा, लगायतका सामाग्रीहरु चढाउने गरिन्छ ।
यी सामाग्री माटोले बनेका नयाँ भाँडा र बाँसको टोकरीमा राखेर सूर्यलाई अर्पण गरिन्छ । बिभिन्न चाडपर्व मध्य छठ पर्व तराई मधेसका बासिन्दाका लागि मुख्य पर्व मानिन्छ ।
रौतहटमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । एकदमै कडा धार्मिक नियमपूर्वक आस्था र विश्वासका साथ मनाईने चार दिवसीय यो पर्व सोमबार बाट शुरु भएको हो ।