सर्लाही , १६ कात्तिक //
सर्लाहीको विभिन्न पालिकामा मुसहर महिला सशक्तीकरण मञ्च (डब्लूएमइएफ) गठन गरिएको छ ।
जिल्लाको बरहथवा नगरपालिका वडा नं. ८, १३ र १४, बसबरिगा गाउँपालिकाको वडा नं. ३, चन्द्रनगर गाउँपालिकाको वडा नं. २, ३, ४ र ६ तथा हरिपुर नगरपालिकाको वडा नं. १, ६, ७ र ९ मा सो मन्च गठन गरिएको हो ।
उल्लेखित वडाहरुमा अन्डेफको सहयोगमा साप–नेपालले स्थानीय सरकारमा लैगिंक उत्तरदायी सुशासन प्रवद्र्धन कार्यक्रम संचालन गरिरहेका छन् ।
सो कार्यक्रम अन्तर्गत चार पालिकाहरुबाट ३० जना मुसहर महिलाहरुले घुम्ती प्रशिक्षकको रुपमा तालिम प्राप्त गरी आ–आफ्नो वडामा गएर मुसहर महिला सशक्तीकरण मञ्च गठन गरेका हुन् ।
साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीका अनुसार चार पालिकामा ३० वटा मुसहर महिला सशक्तीकरण मञ्च गठन गरी १५ सय मुसहर महिलाहरुलाई पहिलो पटक समूहमा आवद्ध गरिएको छ।
शिक्षा र राज्यको सेवा सुविधाबाट बञ्चित भइरहेका मुसहर समुदायलाई उनीहरुको आर्थिक, सामाजिक तथा राजनीतिक अधिकारको खोजी गरी सशक्तीकरण गर्ने, स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि गर्ने र विकासका अन्य पात्रहरुसँग समन्वय तथा सहकार्य गर्ने उद्देश्यले मुसहर महिला सशक्तीकरण मन्च गठन गरिएको हो ।
मञ्च मार्फत मासिक बचत तथा छलफल एवं बैठक गर्नुका साथै नागरिक अधिकार र कर्तव्यबारे पैरवी गर्ने, सचेतना अभिवृद्धि गर्ने, सामाजिक, राजनीतिक अनि आर्थिक मुद्दाहरुमा पैरवी गर्ने, शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माण, आयआर्जन लगायतबारे सचेतना अभिवृद्धि गराउने काम पनि हुने जनाइएको छ ।