बारा , १७ माघ //
राजश्व ठगीको आरोपमा पक्राउ परेका बाराका उमाशंकर रायभर रिहा भएका छन् ।
सर्वोच्च अदालतको आदेशअनुसार उनि आइतबार रिहा भएका हुन् । नागरिकता दुरुपयोग हुँदा राजश्व ठगी मुद्दामा फसेर पक्राउ परेका उमाशंकर शुक्रबार सर्वोच्च अदालतको आदेश पश्चात धरौटी घटाएर २५ हजार तिरेर रिहा भएका हुन् ।
उमाशंकरसँग उच्च अदालतले ७५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
२८ करोड राजश्व छलीको आरोपमा पक्राउ सामान्य कृषक उनले पैसा तिर्न सकेका थिएनन् ।न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले २५ हजार धरौटी बुझाएर उनि रिहा भएका हुन्।
शुक्रबार धरौटी बुझाउने प्रक्रिया नसकिएपछि आइतबार २५ हजार धरौटी बुझाएर उनी छुटेको उच्च अदालतका प्रवक्ता नगिन्द्र केशरी पोखरेलले बताए ।
सर्लाहीका सरोजकुमार मिश्रले उमाशंकरको नागरिकता र ल्याप्चे दुरूपयोग गरेर काठमाडौंमा ब्लुक्रस ट्रेडर्स र जेएन सप्लायर्स भन्ने कम्पनी खोलेका थिए ।
मिश्रले विभिन्न कम्पनीहरूबाट १ अर्ब ४ करोड राजश्व ठगी गरेको भन्दै राजश्व अनुसन्धान विभागले १७ जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा चलाएको थियो ।
त्यसमध्ये उमाशंकर पनि थिए। उमाशंकरको नाममा रहेका कम्पनीले भने २८ करोड राजश्व ठगेको विभागको अभियोग छ ।अनुसन्धानका क्रममा विभागले उमाशंकरलाई पक्राउ गरेको थियो ।


