पर्सा , ४ फागुन //
पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध अफिमसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिका वडा नम्बर ४ निवासी ३० वर्षीय सुजन मोक्तान रहेका छन् ।
प्रहरी चौकी रङ्गपुरबाट खटिएको नियमित चेकिङ्ग टोलीले मनवाबाट रङ्गपुर तर्फ आउँदै गरेको प्रदेश नम्बर २–०३–००७ प ६९९० नम्बरको कालो रातो रङ्गको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा मोटरसाइकलको पछाडि बसिरहेका मोक्तानको साथबाट ९ किलो ३ सय ग्राम अफिम बरामद भएको जनाइएको छ।
मोक्तानले बोकेको कालो ब्यागभित्र सेतो प्लाष्टिकको झोलामा लागूऔषध अफिम जस्तो देखिने लेदो पदार्थ फेला पाएपछि मोटरसाईकल सहित उनलाई नियन्त्रणमा लीइएको पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले बताए।
प्रहरीलाई देख्नसाथ मोक्तानलाई छाडेर मोटरसाइकल चालक फरार भएको डिएसपी खनालले बताए ।
मोक्तानमाथि लागूऔषधसम्बन्धि कसुरमा मुद्दा अगाडी बढाइएको र फरार मोटरसाइकल चालकलाई पहिचान गरेर खोज्ने कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ।


