पर्सा , २२ फागुन //
पर्साबाट पांच किलो अवैध गाँजासहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत जिल्ला पश्चिम चम्पारण सोनखर पञ्चायत १३ रामनगर बस्ने २९ वर्षीय संदिप पटेल र २५ वर्षीय प्रेम पटेल रहेका छन् ।
शनिबार राति साढे ८ बजेको समयमा पर्सा ठोरी गाउँपालिका ३ सिकारीबासमा बी.आर. ०६ यू.५८७३ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल जांच गर्ने क्रममा पाँच किलो गाँजासहित दुबैजनालाई पक्राउ गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।
उनीहरुको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ पनि बरामद भएको उनले बताए ।बरामद गाँजासहित पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय ठोरीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


