वीरगञ्ज , ७ बैशाख //
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले महानगरपालिकालाई आफुले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् ।
सरावगीले प्रयोग गर्दै आएको ना १ झ १६९८ नम्बरको गाडीको साँचो मेयर सरावगीले वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चलराज पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।
अब फेरी पनि नेकपा एमालेले सरावगीलाई नै महानगर प्रमुखको उम्मेदवार बनाएपछि नैतिकताका आधारमा सवारीको साँचो हस्तान्तरण गरेको मेयर सरावगीले बताए । निर्वाचन आचारसंहिताअनुसार सवारी महानगरलाई बुझाएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताए ।
यस्तै वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडाअध्यक्षहरुले पनि मोटरसाइकल बुझाइसकेको महानगरपालिकाका प्रशासन शाखा प्रमुख रामकुमार कुश्वाहले बताए । मधेश प्रदेश सरकारले सेवा सुविधा सम्बन्धी ऐन पारित गरेपछि अधिकांश वडाअध्यक्षहरुले सवारी नलिएर मासिक १० हजार रुपैयाँ लिँदै आएको कुश्वाहको भनाई छ ।


