रौतहट , १५ भदौ //
सशस्त्र प्रहरीले मधेश प्रदेशबाट एक महिनाको अवधिमा करोडौंको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख डीआईजी गणेश ठाडा मगरको बिशेष निर्देशनमा आठवटै जिल्लाबाट गत साउन मसान्तमा ४ करोड ५२ लाख ४३५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो।
भारतबाट अवैधरूपमा भित्र्याइएको कपडा, किराना, हार्डवेयर लगायतका सामान बरामद गरि आवश्यक कार्वाहीको लागि संबन्धित निकायको जिम्मा लगाइएको डीआईजी मगरले जानकारी दिए ।
यसैगरी १ करोड ८४ लाख, ६५ हजार बराबरको तस्करी लगायत विभिन्न अवैध काममा प्रयोग भएको ६७ थान सवारीसाधन सशस्त्र प्रहरीले बरामद गरेको छ ।
स्रोत नखुलेको १७ लाख,८२५ रुपैया बरामद गर्नुका साथै विभिन्न गैरकानुनी काममा लागेका १९ जनालाई पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याएको सशस्त्र प्रहरी नेपाल छिनमस्ता बाहिनी बर्दिबासले जनाएको छ ।
त्यस्तै ६ लाख ६१ हजारको चौपाया,८ लाख १६ हजार बराबरको अवैध काठ,बरामद गर्नुका साथै ५५ सय थान विभिन्न प्रकारको लागुऔषध,७६० किलोग्राम गांजा बरामद गरेको छ ।
साउन मसान्तमा ५ जना चेलीबेटी उद्वार,८६ पटक संयुक्त गस्ती,९ पटक समकक्षी बैठक र १८ पटक लिंक गस्ती भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासले जनाएको छ ।


