रौतहट , ११ असोज //
रौतहटको गौर नगरपालिकाले हराउँदै गएको पिङ सस्कृतिलाई जर्गेना गर्ने उद्धेश्यले दुईवटा लिङ्गे पिङ हालेको छ ।
नगरमा रहेको व्यारेक फिल्डमा नगर प्रमुख शम्भु साहको व्यक्तिगत पहल तथा लगानीमा पिङ हालिएको हो । दशैंमा पिङ खेल्नु परम्परागत मौलिक तथा धार्मिक संस्कृति भएकाले यसलाई संरक्षण र प्रवद्धन गर्न आफूले पिङ हालिदिएको नगर प्रमुख साहको भनाइ रहेको छ ।
पुराना पुस्ताले बसाएको संस्कृति नयाँ पुस्ताले बिर्सँदै गएकाले उनीहरुलाई पनि यसबारे ज्ञान दिँदै आफ्नो संस्कृति, परम्पराप्रति लगाव जगाउने उद्धेश्य पिङ हालिएको उनले बताए ।
मौलिक संस्कृतिको कम चासो र विदेशी संस्कृतिको मोहको कारण पनि पिङ संस्कृति हराउँदै गएको स्थानीय बताउँछन् ।
गौर नगरपालिकाले पिङ हालेर युवापुस्तालाई आफ्नो मौलिक संस्कृतिको ज्ञान दिन लागेको कार्य सराहनिय भएको भन्दै सबैले पिङ खेलेर मनोरञ्जन लिन पनि आग्रह गरे ।


