Thursday, April 30, 2026

घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्र नहुँदा स्थानीय व्यापारीहरू मर्कामा

पछिल्लाे समाचार


रौतहट , ३१ भदौ //
प्रदेशकै ठूलो नगरपालिकाका रूपमा रहेको रौतहटको चन्द्रपुर नगरपालिकामा घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्र नहुँदा स्थानीय व्यापारीहरूले सास्थी खेप्नु परेको छ।

अहिले, रौतहटको चन्द्रपुर, वृन्दावन र गुजरा नगरपालिकाका करिब ८ हजारभन्दा बढी साना व्यापारी ४२ किलोमिटर लामो यात्रा गरेर गौर जान बाध्य भएका छन् । चन्द्रपुर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाले घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्रको अति नै आवश्यक रहेको बताए । सेवा केन्द्र स्थापना नहुँदा जिल्लाको उत्तरीभेगका व्यापारीहरू लामो समयदेखि मर्कामा परेको अध्यक्ष सापकोटाको भनाइ छ ।

अन्य सम्पूर्ण सेवा सुविधा चन्द्रनिगाहपुरमा आइसकेको पनि घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्र स्थापना हुन सकेको छैन। अध्यक्ष सापकोटाले घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्र यथाशीघ्र स्थापनाका लागि जोडदार माग गरेका छन् ।

यता, चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सन्जय काफ्लेले पनि चन्द्रनिगाहपुरमा घरेलु तथा साना उद्योग कार्यालयको अति नै आवश्यकता रहेको बताए । उक्त कार्यालय स्थापनाका लागि नगरपालिकाको कार्यपालिकाको बैठकबाटै निर्णय गरेर अगाडि बढ्ने नगरप्रमुख काफ्लेले बताए । चन्द्रनिगाहपुर व्यापारीहरूको केन्द्रबिन्दु नै भइसकेको हुँदा सो कार्यालय यहाँ अति आवश्यक रहेको नगरप्रमुख काफ्लेको भनाइ रहेको छ ।

चन्द्रपुरमा ठूला उद्योगदेखि स-साना उद्योग खुल्ने क्रममा रहेको र छिमेकी जिल्लाको समेत व्यापारिक केन्द्र रहेको कारण पनि सेवा केन्द्र अति नै आवश्यक रहेको नगरप्रमुख काफ्लेले बताए। । सेवा केन्द्र चन्द्रनिगाहपुरमा स्थापना हुनेबितिकै वृन्दावन नगरपालिका, गुजरा नगरपालिका, फतुवा विजयपुर नगरपालिकालगायतका क्षेत्रका व्यापारीहरूले आप्mनो कामकाज गर्न सहजता पाउने उनले बताए ।

अहिले चन्द्रनिगाहपुरमा करदाता सेवा केन्द्र, मालपोत कार्यालय, नापी कार्यालय, इलाका प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, डिभिजन सडक कार्यालय रहेका छन् । बुधबारदेखि चन्द्रनिगापुरमा प्रदेश लेखा इकाई कार्यालयसमेत खुलेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु