चन्द्रपुर,२८ बैशाख । रौतहटको चन्द्रपुरमा एक महिने नेवा भाषा, नेवा नृत्य तथा धिमे बाजा प्रशिक्षण कार्यक्रम समापन भएको छ ।
नेवाः देय् दबू रौतहट जिल्ला समितिको आयोजना तथा मधेश प्रदेश समितिको सहयोग मा भएको प्रशिक्षण बुधबार एक कार्यक्रम गरि सम्पन्न भएको हो ।
समापन समारोहमा बोल्दै चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेले आफ्नो कला संस्कृतिको संरक्षणमा नेवाः समुदायले देखाएको अग्रसरताको प्रशंसा गर्दै नयाँ पुस्तालाई आफ्नो कला संस्कृति सिकाउन लाग्नु पर्ने धारणा राखेका छन ।
मेयर काफ्लेले चन्द्रपुर नगरलाई सांस्कृतिक नगर बनाउने बाटोमा नगरपालिका अगाडि बढेको बताए ।
नेवाः देय् दबू रौतहटका अध्यक्ष बालकृष्ण श्रेष्ठले नयाँपुस्ताले आफ्नो मौलिक संस्कृति , भाषा, परम्पराहरु बिर्सर्दै गएकाले उनीहरुलाई त्यसतर्फ आकर्षित गर्न यो प्रशिक्षण कार्यक्रम राखेको बताए ।
रौतहट जिल्लामा पनि यसको प्रवद्धन र संरक्षणमा आफुहरु लागिरहेको बताएका छन ।
नेवाः देय् दबू मधेश प्रदेशका अध्यक्ष तिलकलाल श्रेष्ठले समग्र मधेश प्रदेशमा नेवाः समुदाय सगठित हुँदै आफ्नो कलाा, भाषा, संस्कृति र परम्पराको जर्गेना गर्न लागिरहेको बताए ।
नेवाः ल्यायम्ह दबूका अध्यक्ष सुदन मान मुनिकारले नेवाः समुदायका बालबालिका तथा युवाहरुलाई नेवा भाषा, नेवा नृत्य तथा धिमे बाजा प्रशिक्षण दिएको पञ्चरन्त शाक्यले जानकारी दिए ।


