रौतहट ९,चैत । गुजरा नगरपालिकाका विभिन्न वडामा लामखुट्टेको प्रकोप बढ्दै गएपछि स्थानीय बासिन्दाहरू नगरपालिकासँग नियन्त्रणका लागि आग्रह गरिरहेका छन् । तर पटक–पटक कार्यालय धाइरहे पनि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेट्न नपाएपछि आक्रोशित बनेका नागरिकहरूले शुक्रबार बिहान प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि सूचना टाँसेर फर्किएका छन् ।
स्थानीयहरू युवाहरुले गुजरा नगरपालिका वडा नं. ४, ५, ६, ९ लगायतका क्षेत्रमा लामखुट्टेको अत्यधिक वृद्धि भएको बताउँदै नगरपालिकाले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् । लामखुट्टेको टोकाइबाट डेंगु, मलेरिया जस्ता रोग फैलने खतरा बढेको भन्दै स्थानीयहरू स्वास्थ्यमा गम्भीर असर पर्ने चिन्तामा छन् ।
स्थानीय समाजसेवी अब्दुल रहमानले भने, “हामी दुई दिनदेखि नगरपालिका धाइरहेका छौं, तर न नगरप्रमुख भेटिनुभयो, न प्रमुख प्रशासकीय अधिकृत । हाम्रो माग सुनुवाइ नभएपछि बाध्य भएर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि सूचना टाँस्नुपर्यो । नगरपालिकाले अब पनि चासो नदेखाए, हामी थप आन्दोलन गर्न बाध्य हुनेछौं।”

सूचना टाँसेर फर्किएका स्थानीयहरू आक्रोशित देखिन्थे। उनीहरूले नगरपालिका प्रशासनले तत्काल लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कनुपर्ने माग गर्दै, यदि चासो नदेखाए आन्दोलन चर्काउने चेतावनी दिएका छन्। तर, नगरपालिकाका कुनै पनि अधिकारीहरूले यस विषयमा तत्काल प्रतिक्रिया दिएका छैनन् ।
अब स्थानीय प्रशासनले यस विषयमा छिट्टै निर्णय लिन्छ वा नागरिकहरू थप आन्दोलनमा उत्रिन्छन् भन्ने कुरा आउने दिनमा स्पष्ट हुने देखिएको छ ।