रौतहट ०६, चैत । जन ज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुरमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन-२०८१ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्पष्ट बहुमतसहित जित हासिल गरेको छ।
सभापति पदमा नेपाल विद्यार्थी संघका मो. नौसाद आलमले १हजार १ सय ७४ मत प्राप्त गर्दै विजयी भएका छन्। सचिव पदमा साहिल पुरीले १ हजार १ सय २८ मत पाए भने कोषाध्यक्ष पदमा सम्झना कुमारी चौधरीले १ हजार १ सय ४८ मत ल्याउँदै नेविसंघको प्यानलले नै जित हात पारेको छ ।
अन्य प्रतिस्पर्धी संगठनहरूमध्ये अखिल क्रान्तिकारीका सभापति उम्मेदवार अजय पटेलले १७० मत, सचिव सुस्मिता घलानले १८७ मत, र कोषाध्यक्ष अनिसा चौधरीले १८१ मत प्राप्त गरेका छन्। त्यस्तै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का सभापति उम्मेदवार दामोदर उप्रेतीले २०३ मत, सचिव शुभ श्रेष्ठले २३१ मत, र कोषाध्यक्ष अभिशेख कुमार चौधरीले २११ मत ल्याएका छन्।
सदस्य पदमा पनि नेविसंघले आफ्नो वर्चस्व कायम राख्दै विकास कुमार दास, आर्जु भट्टराई, रोहन श्रेष्ठ, पुष्पा कार्की, ऋतिक सिंह, रोजिना कुमारी काफ्ले, र सुशील कुमार प्रहरी विजयी भएका छन् । यस्तै समानुपातिकतर्फ सो क्याम्पसमा नेविसंघले ११२९, अनेरास्ववियुले २४१,समाजवादी विद्यार्थी युनियनले ९९ र अखिलले २०२ मत पाएको छ । निर्वाचन अधिकृत विनोद प्रसाद तिमल्सिनाका अनुसार २ हजार ९५४ मतदाता रहेकोमा १ हजार ६८७ मत खसेको थियो ।