रौतहट १३,चैत । रौतहटको गुजरा नगरपालिमा पर्ने लामाहा खोलामा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र परेपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन्। निर्माण कम्पनीको लापरबाहीले पुल निर्माण कार्य रोकिएपछि स्थानीय युवाहरूको एक समूहले जिल्ला प्रशासन कार्यालय, रौतहटमा पुगेर ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा उल्लेख भएअनुसार जंगलसहिया हुँदै बालचनपुर जोड्ने सडकखण्ड अन्तर्गत गुजरा नगरपालिकाको कार्यालयदेखि १ किलोमिटरको दूरीमा रहेको लामाहा खोलामा दुई वर्षअघि पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो । तर, ठेकेदार कम्पनीले पुरानो पुल भत्काएपछि निर्माण कार्य रोकी फरार भएकाले हालसम्म पुल अधुरो रहेको छ ।
पुल नबन्दा विद्यार्थी, बिरामी, वृद्धवृद्धालगायत सर्वसाधारणलाई ठूलो कठिनाइ भोग्नुपरेको छ। विशेष गरी बर्खायाममा खोला तर्न नसकिने अवस्था भएकाले नागरिकहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।
सामाजिक अभियन्ता अब्दुल सलामले प्रशासनसमक्ष ठेकेदार कम्पनीको गैर-जिम्मेवारपूर्ण कार्यशैलीको छानबिन गरी आवश्यक कारबाही गर्न, पुल निर्माण कार्य छिटो अघि बढाएर यथाशीघ्र सम्पन्न गराउन तथा स्थानीय बासिन्दाका लागि वैकल्पिक मार्ग वा अस्थायी पुल निर्माणको व्यवस्था गर्न अनुरोध गरेका छन् ।
ज्ञापनपत्र बुझाइसकेपछि प्रशासनले यस विषयमा आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिएको छ ।