रौतहट २३,चैत । शुक्रबार चन्द्रपुर क्षेत्रमा डढेलो लागेको थियो । डढेलोको कारणले आसपासका गाउँहरूमा बाक्लो धुवाँ फैलिएको थियो, जसले गर्दा स्थानीयवासीलाई श्वास फेर्न समेत गाह्रो देखिन्थ्यो । वन क्षेत्रमा फैलिएको डढेलोका कारण चन्द्रपुरको जनजीवन प्रभावित बनाएको छ । धुवाँ र धुलोका कारण आँखा पोल्ने अवस्थाले हिँडडुल गर्न समेत कठिनाइ हुन थालेको स्थानिय बताउछन ।
यता डढेलो नियन्त्रण र बन संरक्षणमा तल्लिन हुनुपर्ने वन कार्यालयको भने तालिम तिर मात्र ध्यान गएको देखिन्छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साह फिल्डमा काम गर्नुभन्दा योजना तथा कार्यक्रमहरूतिर मात्रै ध्यान दिने गरेको बनकै कर्मचारी बताउछन ।
समाचार स्रोतका अनुसार प्रमुख साहले विभिन्न तालिम तथा कार्यक्रमको नाममा मोटो रकम कुम्ल्याउने कार्यमा लिप्त भएको देखिन्छ ।
शुक्रबार वन कार्यालय रौतहटले चन्द्रपुरको ए.एन प्लाजामा तालिमको कार्यक्रम गरेर ठूला-ठूला भाषण गर्दै थिए । प्लाजामा “दिगो वन व्यवस्थापन तथा सम्वर्द्धन प्रणाली कार्यान्वयन सुदृढीकरण तालिम/गोष्ठी” आयोजना गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला प्रमुख अधिकारी विनोद खड्कालाई प्रमुख अतिथी र प्रदेश वन निर्देशनालयका निर्देशक जगरनाथ प्रसाद जयसवाल
लाई बिशिस्ट अतिथी बनाएर बन प्रमुखले भाषणमै रौतहटको वन संरक्षण भएको सुनाए । कार्यक्रममा डिभिजन वन प्रमुख (डीएफओ) हेमन्तप्रसाद साह र वन अधिकृत राजेश साहले वन संरक्षणको महत्त्वबारे ठूला-ठूला भाषण गर्न भ्याए । तर वास्तविकतामा सोहि कार्यलय अन्तर्गत पर्ने वृन्दावन सव डिभिजनको बन क्षेत्रमा खयर कटान तीव्र गतिमा भइरहेको र वनमा लागेको डढेलोले उनीहरूको भाषणलाई गिज्याएको देखिन्छ ।
वृन्दावनमा बागमती नदी किनारको बगर क्षेत्रमा बहुमूल्य खयर जातका रुखहरू संगठित रूपमा कटान भइरहेको छ । स्थानीय राम गणेश पटेलका अनुसार अवैध कटानका लागि दैनिक रूपमा १० भन्दा बढी ट्रयाक्टर प्रयोग गरिन्छ । वन कार्यालयलाई पटक–पटक जानकारी गराए पनि कुनै कारबाही नभएको उनको गुनासो छ । “वन कर्मचारीकै मिलेमतोमा खयर कटान भइरहेको छ,” पटेलले भने ।
वन अधिकृतहरू संरक्षणका ठूला कुरा गर्ने तर व्यवहारमा कार्यान्वयन नहुने स्थानीयको गुनासो छ । स्थानीय सुरेश पटेलका अनुसार फँडानी गर्नेहरू सुरुमा झारपातमा आगो लगाउँछन्, त्यसपछि खयरका रुखहरू मासेर जमिनलाई खेतीयोग्य बनाउँछन् । प्रत्येक वर्ष १०० बिघाभन्दा बढी जमिन यसरी तयार पारिन्छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साह भने वन कर्मचारीको संलग्नता नरहेको दाबी गर्छन् । “हामीले बगर क्षेत्रको संरक्षणका लागि पहल गरिरहेका छौँ, तर स्थानीय तहको सहयोग बिना सम्भव छैन,” साहले भने । तर स्थानीयहरू वन कार्यालयले प्रभावकारी कदम नचालेको भन्दै असन्तुष्ट छन् । अहिलेसम्म एउटा पनि खयरको काठ बरामद हुन नसक्नुले वन कार्यालयकै कमजोरी देखिएको उनीहरूको आरोप छ ।
डिभिजन वन अधिकृत राजेश साह समेत वन फँडानी रोक्न प्रभावकारी कदम चाल्न असफल देखिएका छन् । वृन्दावन क्षेत्रमा संगठित रूपमा कटान भइरहेको हुँदा, स्थानीयले उनीहरूकै मिलेमतो रहेको आशंका गरेका छन् ।

डिभिजन वन कार्यालय रौतहटको लापरबाहीका कारण बागमती नदीले वन क्षेत्र अधिग्रहण गरेको भूभाग खेतीयोग्य जमिनमा परिणत गर्ने कार्य बढ्दो छ । सो क्षेत्रमा रौतहटको मात्र नभई काभ्रे, मकवानपुर, सिन्धुली लगायतका जिल्लाबाट आएका व्यक्तिहरूले हजारौँ हेक्टर बगर क्षेत्र कब्जा गरी खेतीमा परिवर्तन गरिसकेका छन्। खयर फँडानीका कारण बागमती किनारको हरियाली गुम्दै गएको छ ।
स्थानीयहरूले अवैध रूपमा खयर कटान गरी खेतीयोग्य जमिन बनाउनेहरूमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् । रौतहटमा २९ हजार ४ सय हेक्टर क्षेत्रफलमा जंगल फैलिएको छ । जंगलसहिया, रंगपुर र बृन्दावन गरी तीन वटा साझेदारी वन र ४२ वटा सामुदायिक वन जिल्लामा छन् । सम्बन्धित निकायको उदाशिनताका कारण सर्लाही, रौतहट र बारा जिल्लाहरुमा रहेका चारकोसे झाडी समेत उजाड भइरहेका छन् ।
