रौतहट , १४ माघ //
पूर्वमन्त्री प्रभु साहले एमालेसँग डराएर गठबन्धन सरकारले उपनिर्वाचन नगराएको बताएका छन्।
चन्द्रपुर नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका साहले पाँचदलीय गठबन्धनले एमालेसँग डराएर उपनिर्वाचन नगराएको बताएका हुन्।
उनले ६ महिनामा गर्नुपर्ने उपचुनाव पद सकिएको एक वर्ष बितिसक्दासमेत नगराउनुको प्रमुख कारण गठबन्धनभित्रको हारको डर नै रहेको दाबी गरे।
मन्त्रि साहले राष्ट्रिय सभाको निर्वाचनले पनि गठबन्धनलाई एमालेसँग झस्काएको बताउँदै समयमै स्थानीय तहको निर्वाचन गराउनुपर्नेमा जोड दिए।
उनले राष्ट्रिय सभा चुनावमा एमालेले एक सिट जिते सन्न्यास लिने घोषणा गरेका माधव नेपालले अब कुन मुखले सक्रिय राजनीति गर्ने भन्दै प्रश्नसमेत गरे।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका पालामा सुरु भएका विकास निर्माणका काम यो सरकारले रोकेर विकासविरोधी काम गरेको उनको आरोप छ।
पछिल्लो समय आफूसहितका नेताले पदबाट राजीनामा दिने भन्ने कुरा सञ्चारमाध्यममा आएको विषयमा त्यो प्रतिक्रियावादीहरूको चाल भएको साहले प्रतिक्रिया दिए। एमालेलाई सिध्याउन अब कुनै पनि शक्तिले नसक्ने बताउँदै मधेस प्रदेश अब एमालेमय बन्ने उनले दाबी गरे।


